
जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य एवम् पूर्वमन्त्री राजकिशोर यादवले अख्तियारले प्रदेश सरकारको गरिमामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ मा शनिबार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले अख्तियारले संघीयतामाथि नै आँच पुर्याउने कार्य गरेको बताए । अनियमितता विरुद्ध असुन्धान हुनुपर्छ, उनले भने–‘तर, प्रदेशको मुख्यालयमा अख्तियारको प्रवेश गर्ने शैली गलत छ ।’ निर्वाचित प्रदेशको सर्वोच्च निकायमाथि अख्तियारले प्रहार गरेको उनले टिप्पणी गरे । नेता यादवले जसपा मुलुककै वैकल्पिक शक्ति बनेको दावी गरे । देशभर जसपामा प्रवेश गर्नेको लहर नै चलेको छ, उनले भने–‘यसले पार्टी सहीदिशामा अघि बढिरहेको प्रष्ट हुन्छ ।’ कार्यक्रममा प्रदेशसभा सदस्य एवम् पूर्व राज्यमन्त्री सुरेश मण्डलले प्रदेश सरकारलाई बदनाम गर्ने सुनियोजित खेल भइरहेको जिकिर गरे । मुख्यमन्त्री कार्यालयमा अख्तियारको टोली प्रवेश नगर्दै मिडियामा समाचार बाहिरिनुले घटना सुनियोजित रहेको प्रष्ट भएको उनले दावी गरे ।
कल्याणपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति प्रमोद कुमार यादवको अगुवाईमा सयौ कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई उक्त प्रतिनिधिसभा क्षेत्रका सांसद समेत रहेका नेता यादवले अबिल माला लगाएर स्वागत गरेका थिए ।