२०७८ आश्विन १८, सोमबार ०७:३२

जनकपुरधाम । अख्तियार दुरुपयोग आयोग अनुसन्धानको शैलीको विरोधगर्दै जनता समाजवादी पार्टी(जसपा) नेपालले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

आइतबार दिउँसो जसपाले वृहत्त मोटरसाइकल र्याली गरेर अख्तियारको बिरोध गरेको हो । रेल्वे स्टेशनबाट निकालिएको मोटरसाइकल र्यालीले नगरको विभिन्न चोकको परिक्रमा गरेको थियो । भानुचोक, कदमचोक, मालपोत कार्यालय हुँदै मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक हुँदै अस्पताल रोड, जानकी चोक, जनक चोक, शिवचोक हुँदै मिल्सएरिया, लक्ष्मण अखाडा, देवी चोक, थापा चोक हुँदै पिडारी चोक पुगेका थिए । पिडारीचोकमा आयोजित कोणसभामा वक्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई बर्खास्तको माग गरे । विरोध सभामा बोल्दै प्रदेशका पुर्व आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज कुमार सिंह कुशवाहाले अख्तियारले राजनीति प्रतिशोध साध्न मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको आरोप लगाए । प्रदेश सरकारले सुशासन स्थापना गर्ने उदेश्यले संविधानमा दिएको अधिकारलाई प्रयोगगरि प्रदेश जनलोकपाल गठन गरेसँगै अख्तियारले प्रदेश सरकारसँग चिडिएको र साईकल खरिदलाई माध्यम बनाएर यस्तो छापा मारी गरेको राज्यमन्त्री कुशवाहाले आरोप लगाए । अर्बौ भ्रष्टाचार भएको ठाउँमा अख्तियारले चुई सम्म पनि बोल्न नसक्ने बताउदै उनले भने,‘ प्रदेश २ लाई कमजोर ठानेर यस्तो गरिएको हो । तर अख्तियारलाई चुनौति दिन चाहन्छु,तपाईलाई हिम्मत छ भने प्रधानमन्त्री कार्यालयमा छापा मारी गरेर देखाउनुस्, जहाँ अर्वौको भ्रष्टाचार हुन्छ ।’ मधेश प्रदेश समिति सदस्य शेषनारायण यादवले सुनियोजित तरिकाले अख्तियारले छापामारी गरेको भन्दै अख्तियारका प्रमुख आयुक्तलाई बर्खास्त गर्नुपर्ने माग गरे । संघीयतालाई समाप्त पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुनियोजित तरिकाले अख्तियारको प्रवेश गराएको उनले दावी गरे । मधेश प्रदेश सदस्य एवम् पूर्व सभासद् उर्मिला साहले अख्तियारको कदमलाई संघीयता विरोधी बताइन् ।

कोणसभामा जसपाका धनुषा अध्यक्ष पशुपति यादवले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाउ बेटी बचाउ’लाई असफल गर्न अख्तियारले छापामारी गरेको आरोप लगाए । प्रदेशका छात्राहरुलाई महिला सशक्तिकरण, शिक्षा, महिला हिंसा लगायतका क्षेत्रमा सरकारको उल्लेखनिय कामले प्रदेश सरकार लोकप्रिय भईरहेको वेला अख्तियारले अदृश्य शक्तिको ईशारामा यस्तो हर्कत गरेको उनले टिप्पणी गरे । भारी संख्यामा रहेको मोटरसाइकल र्यालीले जनकपुर बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सयौको संख्यामा रहेको मोटरसाइकल जुलुसले नगरक्षेत्रमा निकै बेर घुमेको थियो ।‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साईकल खरिदमा अनियमितताको आशंकामा अनुसन्धान गरिरहेको वेला सत्तारुढ दल जनता समाजवादी पार्टीले अख्तियारको विरुद्ध आन्दोलन थालेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’अन्तर्गत साईकल खरिदमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार मुख्यमन्त्री कार्यालयमा छापा मारेर साईकल खरिद सम्बन्धि फाईल नियन्त्रणमा लिएको हो । अख्तियारको छापा मार्ने शैलीप्रति आपत्ति जनाउँदै जसपा विरोधमा उत्रेको हो । जसपा पार्टीको प्रदेश कार्यालयको निर्देशानुसार आईतवार जनकपुरधाम सहित प्रदेश २ का ८ वटै जिल्लामा अख्तियारले कुनै जानकारी नगराई मुख्यमन्त्री तथा मन्त्रिमरिषदको कार्यालय छापामार शैलीमा छापा गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो । यस अघि शनिवार प्रदेशका ८ वटै जिल्लामा अख्तियारको विरोधमा मसाल जुलुस प्रदर्शन गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजनीति प्रतिसोध लिन तथा संघीयतालाई नै समाप्त गर्न षड्यन्त्र तहत अख्तियारले यस्तो हर्कत गरेको भन्दै जनकपुरको रेल्वे स्टेशनबाट सयौको संख्यामा जसपा नेता तथा कार्यकर्ताहरुले मोटरसाईकल जुलुस गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News