२०७८ आश्विन १८, सोमबार ०७:५१

जलेश्वर । महोत्तरी जिल्लाका पशुपालक किसानहरु कृत्रिम गर्भाधान तर्फ आकर्षित भएका छन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्वरमा मात्रै विगत तीन वर्षको अवधिमा १७ हजार भन्दा बढि चौपायामा कृत्रिम गर्भाधान गरिएको छ । केन्द्रका पशु स्वास्थ्य शाखा प्रमुख सुर्यदेव यादवका अनुसार कृत्रिम गर्भाधान प्रति महोत्तरीका किसानहरुको आकर्षण तिब्र रुपमा बढेर गएको छ । ‘ चौपायामा कृत्रिम गर्भाधान गरेको कुनै दिन नै हुँदैन र कार्यालयको समयबाहेक घरमै पुगेर समेत प्राविधिकहरुले सेवा दिने गरेका छन । ’ नीजि स्तरमा समेत पशु प्राविधिक चिकित्सकहरुको सहयोगले कृत्रिम गर्भाधान गराउने किसानहरु समेत थुप्रै रहेकोले प्रमुख यादवले बताए । आर्थिक वर्ष २०७६÷०७७ मा ८ हजार ४ सय ५१ चौपायामा कृत्रिम गर्भाधान गरिएको छ भने आ.व.०७७÷०७८ मा ८ हजार १ सय १० वटा चौपायामा कृत्रिम गर्भाधान गरिएको प्रमुख यादवले बताए । त्यसै गरि चालु आर्थिक वर्षको असार देखि हाल सम्ममा एक हजार चौपायामा कृत्रिम गर्भाधान गरिएको छ । प्रमुख यादवका अनुसार १३ हजार ८ सय २३ गाई,४ हजार ४ सय ५४ भैंसी तथा ४ सय ३६ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।

विगत साढे दुई वर्षको अवधिमा पटक–पटक कोरोना संक्रमणको कारण भएको बन्दाबन्दीको बेला केन्द्र भन्दा पनि किसानको घरमै सेवा दिईएको र त्यस्ता थुप्रै संख्याहरु उल्लेख नभएपनि हजारौं पशुपालक किसानहरु लाभान्वित बनेको प्रमुख यादवको कथन छ । कृत्रिम गर्भाधानको मुख्य फायदा नै यस प्रक्रियाबाट जन्मिने चौपायाहरुको उत्पादकत्वमा बृद्धि हुने भएकोले किसानहरुको आकर्षण बढेको यादवले बताए । उन्नत जातको सिमनको प्रयोग गर्ने भएकोले साना पुँजी भएका किसानहरुले पनि उन्नत जातको चौपायाको लागि कृत्रिम गर्भाधान उत्तम रहेको प्रमुख यादवले जनाए ।

Comment


Related News

Latest News

Trending News