गरुडा । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा आइतबार ठुलो मात्रामा छात्राहरुलाई साइकल वितरण गरेका छन् ।
प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत गौरस्थित जुद्ध उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई राज्यमन्त्री यादवले साइकल वितरण गरेका हुन् । आइतवार आयोजित एक कार्यक्रमबा बीच राज्यमन्त्री यादवले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् । सो विद्यालयको कक्षा ८ मा अध्ययनरत ९७ जना छात्रालाई साइकल वितरण गरिएको र बाँकी छात्रालाई पनि पछि साइकल वितरण गर्ने राज्यमन्त्री यादवले बताए । छात्राहरुलाई साईकल वितरण गर्दै उनले शिक्षाप्रति छात्राहरुलाई आकर्षित गर्न साइकल वितरण कार्यक्रम गरिएको बताए । साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेकोले महिलालाई सशक्त बनाउन प्रदेश सरकारले छोरीलाई साइकल बाँडने योजना ल्याएको बताए । साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुने र यसले छात्राहरुलाई विद्यालय आउन समेत सहज हुने उनले विश्वास व्यक्त गरे ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए । कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, उपप्रमुख किरण ठाकुर, जसपा नेतृ शोभा, गिता कुशवाहा लगाएतका व्यक्तिहरुको सहभागी रहेको थियो ।


