अपडेट 
२०७८ आश्विन १८, सोमबार ०९:०६

बहुचर्चित पान्डोरा पेपर्स सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संजाल आइसीआइजेको संयोजनमा खोज पत्रकारिता केन्द्र (खोपके)ले सार्वजनिक गरेको यो विवरणमा १६ जना नेपालीको नाम पनि गाँसिएको छ ।

उक्त रिपोर्टमा नेपालका केही व्यक्ति र व्यापारिक घरानाले अफसोर कम्पनी खोलेर गोप्य लगानी गरेको जनाइएको छ । गैरकानूनी धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरुले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको हो ।

आइसीआइजेले पान्डोरा पेपर्सलाई अहिलेसम्मकै सबैभन्दा ठूलो खुलासा भनेको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजमा खोपकेका तर्फबाट पत्रकारहरु पनि सहभागि थिए । १६ जना नेपालीको नाम सूचीमा जोडिएपनि राजनीतिज्ञ, सरकारी अधिकारी, सेलेव्रिटी र अपराधमा संलग्न व्यक्तिहरुको लगानी भने नभेटिएको जनाइएको छ ।

ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा सांसद तथा नेपाली अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यहरुको नाममा कम्पनी खोली विभिन्न मुलुकमा कारोबार गरेको पान्डोरा पेपर्समा उल्लेख छ । विनोद चौधरी, पत्नी सारिकादेवी, तीन छोराहरु निर्वाण, बरुण र राहुलका नाममा रहेका छन् ।

अर्को व्यापारिक घराना गोल्छा अर्गनाइजेसनले पनि ट्याक्स हेभनमा रहेर कारोबार गरेको जनाइएको छ । दिवंगत भैसकेका उनका दुईजना भाई, काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाका नाममा आइल्यान्ड्समा कम्पनी रहेको जनाइएको छ ।

यसअघि नेपालिक्समा उल्लेख भएका अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको थप लगानी भेटिएको पनि पान्डोरा पेपर्समा उल्लेख छ । राजेन्द्र शाक्य, सहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, सुधीर मित्तल तथा नेपालमा बसोबास गर्ने भारतीय नागरिक राधेश्याम सर्राफको नाम पनि प्रतिवेदनमा जनाइएको छ ।

ट्याक्स हेभन मुलुकमा अफसोर कम्पनी खोलेर लगानी गर्नु गम्भीर विषय रहेको आइसीआइजेका निर्देशक जेरार्ड रायलले उल्लेख गरेका छन् । पान्डोर पेपर्स सार्वजनिक हुनुअघि अष्ट्रेलियाको एबीसी टिभीलाई अन्तर्वार्ता दिँदै उनले अफसोस कारोबार सम्बन्धित देशमा असमानता र गरिबी बढाउनदेखि करबापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको बताएका छन् ।

उनका अनुसार १४ वटा सेवा प्रदायक ल फर्मका एक करोड २० लाख कागजात केलाएर यो रिपोर्ट तयार पारिएको हो । ‘यहाँ एउटा छायाँ विश्व छ र अर्कोतर्फ छायाँ अर्थव्यवस्था चलिरहेको छ । छायाँ संसारबारे हामी सचेत छैनौं’ उनले भनेका छन् ।

कानूनको उल्लंघन भएको छैन : चौधरी ग्रुप
उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिंदै नेपाल र विदेशी कानूनको उल्लंघन नगरेको जनाएको छ । “मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानी सम्बन्धी नेपाली कानून सहित लागू भएका सबै कानून पालन गरेका छन् । त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्” खोज पत्रकारिता केन्द्र कालागि वाशिङ्टन पोष्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नमा जवाफ दिँदै राहुल चौधरीले भनेका छन् ।

सीजीले सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरेको उनको भनाइ छ । “जहाँसम्म हाम्रो लगानीमा साझेदारहरूको कुरा छ, सीजी र यसका कम्पनी समूहमा विश्वस्तरमा सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीसँग हाम्रो साझेदारी छ । उनीहरूका बारे सार्वजनिक डोमेनमा जानकारी सहजै उपलब्ध छ”, राहुलले इमेल मार्फत प्रतिक्रिया दिंदै भने, “हामी आफ्ना साझेदार विरुद्धका आरोपबारे टिप्पणी गर्न चाहँदैनौं । यसबारे तपाईंलाई कुनै प्रश्न गर्नु छ भने सीधै उनीहरूसँग सम्पर्क गर्नुहोस् ।”

Comment


Related News

Latest News

Trending News