लहान । सामाजिक सञ्जालको म्यासेन्जर मार्फत चिट्ठा परेको भन्दै ठगी गर्ने एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका ८ का ३४ वर्षीय दिपेन्द्र दास रहेका छन् । उनले विभिन्न व्यक्तिबाट ८ लाख ६५ हजार रुपैया ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । उजुरी आधारमा उनलाई प्रहरीेले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार इमो, ह्वाट्स एप, भाइवर र म्यासेन्जरमा विभिन्न व्यक्तिलाई उनले पहिले सम्पर्क गर्थे र त्यसपछि चिट्ठा परेको भन्दै कर दिनुपर्ने नाममा रकम ठग्दै आएका थिए । सोमवार पक्राउ परेका दासलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह नै सक्रिय छन् । यसबारे सचेत हुन नेपाल प्रहरीले पटक पटक सर्वसधारणका लागि सूचना निकाल्छ । यद्दपी ठगिने क्रम रोखिएको छैन ।


