जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानले गैरसुकुम्बासीले कब्जा गरेको जग्गा खाली गराउन मंगलबार जनकपुरमा प्रदर्शन गरेको छ ।
चुरे अभियानी संग गरिएको सम्झौता अनुसार २१ दिन भित्र प्रदेश सरकारले छानवीन गरि प्रतिवेदन सार्वजनिक नगरिएको र गैरसुकुम्वासीलाई बाँडिएको जग्गा बदरको माग सहित मंगलवार प्रदर्शन गरेको हो । जनकपुरधामको स्टेशन एरियाबाट निकालिएको अभियानीको विरोध जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको गेट अगाडी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले प्रदेश सरकारले २१ दिन भित्र छानविन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धतालाई यथासिघ्र पालना गर्नुपर्ने माग गरे । महोत्तरी जिल्लाको भंगहा नगरपालिकास्थित सुकुम्वासीको नाउँमा बाँडिएको जग्गा गैर सुकुम्वासीहरुलाई बाँडिएकोले छानविन गरि गैर सुकुम्वासीहरुले उपयोग गर्दै आएको जग्गा खाली गराएर सुकुम्वासीलाई प्रदान गर्नका लागि पहल गर्नुपर्ने बताए । अभियानले मंगलवार नै गैर सुकुम्वासीले कव्जा गरेको जग्गा बदर गरी असली सुकुम्वासीलाई जग्गा प्रदानको माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।
अभियानका राष्टिय सल्लाहकार सरोज रायले ज्ञापनपत्र बुझाएका थिए । डिभिजन वन कार्यालय सिरहामा अनियमितता र मारुती सिमेन्टले चुरे वनको जग्गा अतिक्रमण गरि प्रयोग गरेको सम्वन्धमा छानविन गरि जग्गा फिर्ताका लागि चुरे अभियानीले ९ दिन सम्म जनकपुरधामको जनकचौकमा आमरण अनसनमा बसेका थिए । अनसनको नवौ दिनमा प्रदेश सरकारको तर्फबाट भौतिक योजना मन्त्री रामसरोज यादवले २०७८ भदौ ४ गते अनसनकारीसंग सात वुंदे सम्झौता गर्दै २१ दिन भित्र छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए ।


