२०७८ आश्विन २०, बुधबार १९:१६

वीरगञ्ज । ‘पिता और पुत्री के मिलन देखकर हमसब भाबुक होगए, बुधबार जब बच्ची अपने पिता से मिलि तो दोनो के आँसु रुक नहि रहे थे’ वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति कन्सुलर शैलेन्द्र कुमारले बुधबार दिउँसो भारतीय महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा बिहानको दृश्य स्मरण गरे ।

कन्सुलर कुमारले भने, आज सुबह लगभग आधा घन्टा तक तीन महिना के बाद पिता से मिलने के बाद बच्चि आधा घन्टा तक रोती रहि’। जसले गर्दा आफुहरु सबै भावविहवल भएको उनले बताए । भारतीय महावाणिज्य दुतावास परिसरमा आयोजित कार्यक्रममा तीन महिना अघि वीरगञ्जबाट अचानक हराएकी ११ बर्षीया बालिकाको दिल्लीबाट उद्धार गरिएको जानकारी गराइएको थियो । वीरगञ्ज १५ लक्ष्मणवा घर भएकी नन्हकि कुमारी (नाम परिवर्तन) जुलाई १३ तारेखमा दिल्ली पुगेकी थिइन् । वीरगञ्जको सीमावर्ती शहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेको कार्यक्रममा आफन्त नेपालले जानकारी गराएको थियो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनको उद्धारमा सक्रिय संस्था आफन्त नेपाल तथा भारतीय महावाणिज्य दुतावासका अधिकारीहरुले रेखाको उद्धार घटना क्रम बारे जानकारी गराएका थिए । दिल्ली रेलवे स्टेशनमा वीरगञ्जको बालिका फेला परेको खबर आएको महावाणिज्यदुत नितेश कुमारले जानकारी गराए पछि आफु सक्रिय भएको राजनीति कन्सुलर शैलेन्द्र कुमारले बताए ।

रेखाको जानकारी आएपछि लगातारको प्रयासपछि उनको आफन्तहरुको बारेमा जानकारी भएपछि स्वदेश फिर्तीका लागि आवश्यक सहजीकरण थालेको बताए । ‘ उनी सक्दो छिटो घर फर्किउन भन्ने मेरो प्रयास थियो,’ कुमारले भने, ‘परिस्थिति हेर्दा एक समय दशैं अघि उनी स्वदेश फर्किन्नन् जस्तो लाग्न थालेको थियो, तर हाम्रो मिहिनेत सफल भयो, उनी दशैं अघि घर फर्किन ।’ पत्रकार सम्मेलनमा भारतीय महावाणिज्यदुत नितेश कुमारले अहिले पनि मानवता कायम रहेको बताए । उनले नेपाल भारतबीच रहेको प्रगाढ भएको यो घटनाले प्रमाणित गरेको बताए । भारतीय महावाणिज्य दुतावासका कर्मचारी लगायत दिल्लीस्थित नेपाली दुतावास,आफन्त नेपाल र भारतीय प्रहरी लगायतका संस्थाहरुको संयुक्त प्रयासले बालिकालाई दिल्लीबाट सकुशल पुन पारिवारिक पुर्नमिलन सम्भव भएकोमा महावाणिज्य दुत कुमारले खुशि व्यक्त गरे । आफन्त नेपाल–भारत प्रमुख नवीन जोशीलेले भारतीय प्रहरीले जुलाई १३ तारेखमा बालिकालाई दिल्लीको रेल्वे स्टेशनमा बेवारिशे अवस्थामा प्रहरीले फेला पारेर भारतीय चाइल्ड लाइन संस्थाको जिम्मा लगाएको बताए । चाइल्ड लाइनले रेखालाई दिल्लीकै अनाथ तथा बेवारिशे बालबालिकाको आश्रय स्थल चाइल्ड वेलफेयर कमिटीको कार्यालयको जिम्मा लगाएको थियो । आफन्त नेपालले रेखाको घरफिर्तीका लागि कानूनी प्रकृयाहरु अघि बढाउँदा लामो समय लाग्न गएको दिल्लीका प्रमुखले भने, ‘नेपाल सरकार, काठमाण्डुस्थित भारतीय दुतावास, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावास र दिल्लीस्थित नेपाली दुतावासको पनि धेरै सहयोग पाइयो ।’

जोशीले सुरुमा रेखाले आफ्नो नाम मात्र बताएको र अरु केही नबताएकाले उनको ठेगाना तथा आफन्तको पहिचान खुल्न समस्या भएको बताए । ‘हामीले सेल्टरमा उनलाई दैनिक जसो काउन्सिलिङ गर्न थाल्यौ, बिस्तारै उनले बोल्दै गएपछि नेपालको वीरगन्ज र उनको घरको टोल सम्मको कुरो खुल्यो, त्यसपछि टोलको नामबाट उनको परिवारजनसंग भारतीय महावाणिज्य दुतावासको सक्रियतामा सम्पर्क स्थापित भयो,’ उनले भनिन्, रेल्वे स्टेशनमा प्रहरीको नजरमा नपरेको उनी दिल्लीमा ठूलो जोखिममा पर्न सक्ने सम्भावना रहेको जोशीले बताए । जोशीले आफन्त नेपाल–भारत शाखाले मात्रै भारतबाट बर्षेनी एक सय ५० देखि २ सय जना सम्म नेपाली बालबालिकाको भारतको बिभिन्न शहरबाट उद्धार गर्ने गरेको बताए । ‘कोरोनाकाल पछि यो क्रम झनै बढेको छ, भारतको गाजियावादबाट एकै पटक १९ बालबालिकालाई संस्थाले उद्धार गरेको थियो,’ उनले भने, ‘१५ बर्ष मुनिका नेपाली बालबालिकालाई भारतमा उद्योग, होटल र घरमा मजदुरी गराउने प्रवृत्ति छ, १५ बर्ष माथिका बालिकाहरुलाई सेक्स ¥याकेटमा प्रयोग गरिन्छ ।’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवले भारतीय महावाणिज्य दुतावास लगायत नेपाल र भारतका सरोकारवालाहरुको प्रयासले यसरी बालिकालाई तीन महिनामै स्वदेश फर्किन सफलता हासिल भएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्र पटेलले वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासको सक्रिय पहलमा बालिका सकुशल घरफिर्ती भएकोमा महावाणिज्य दुतावासका पदाधिकारीहरुलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनाल, सशस्त्र प्रहरीका डिएसपी निर्मल थापा लगायत भारतीय महावाणिज्य दुतावासका पदाधिकारी तथा उद्धारगरिएकी बालिको परिवारजनको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News