काठमाण्डु । मंसिर ९ देखि काठमाण्डुमा हुने भनिएको काँग्रेसको १४औं महाधिवेशन पुनः सर्ने भएको छ ।
नेपाली काँग्रेसको बुधबार बसेको बैठकले महाधिवेशन तोकिएको समयमा हुन नसक्ने भन्दै सार्ने भएको हो । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । ५ जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशन समेत सुरु हुन नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने समझदारी भएको जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय, सानेपामा जारी धर्ना र अनसनबारे सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेस कार्यालय सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता लामो समयदेखि अनसनमा छन् । महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी छलफल भएपनि निर्णय भने हुन बाँकी छ । काँग्रेसको हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन । काँग्रेसले दसैँअघि क्रियाशिल सदस्यता विवाद टुंगो लगाउने र हालसम्म अधिवेशन हुन नसकेका जिल्लामा सो अवधिमा सुरुवात गर्ने तयारी गरेको छ ।
बुधबारसम्म काँग्रेसको ११ जिल्लाको अधिवेशन सकिएको छ भने दसैँअघिसम्म हिमाली जिल्लाका अधिवेशन सक्याउने लक्ष्य थियो । यस्तै तिहारसम्ममा जिल्लाको सबै अधिवेशन सक्ने र प्रदेशको पूर्वनिर्धारित समयको अधिवेशन केही पर सार्नेगरी पनि नेताहरुबीच छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा देउवासँगै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेता सहभागी थिए । प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिलाई भेट्न जानुअघि पौडेल समूहका नेताहरुबीच छलफल भएको थियो । उनीहरुले क्रियाशील सदस्यताका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेका थिए ।


