जनकपुरधाम । जनमत पार्टीले भ्रष्टाचार विरोधी आन्दोलनलाई निरन्तरता दिएको छ ।
बुधवार जनमत पार्टीका नेता कार्यकर्ताहरु जनकपुरबाट जुलुस निकालेर बर्दिबास पुगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरे । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले अख्तियारको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र समेत बुझाए । प्रदेशमा भ्रष्टाचार बढेको र भ्रष्टाचारीहरुमाथि मुद्दा दर्ता नहुने गरेकाले अख्तियारको कार्यालय घेराउ गरेको सो पार्टीका उपमहासचिव इन्द्रजीत यादवले बताए । उनले भ्रष्टाचारमा फसेकाहरुमाथि कारबाही अगाडी नबढाए कडा आन्दोलन गर्ने चेतावनीसहित अख्तियार प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएको जानकारी दिए । राउतका कार्यकर्ताहरुले यसअघि जनकपुरधाममा पनि भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको थियो । प्रदेश सरकारको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको आरोप मुख्यमन्त्री लालबाबु राउतमाथि लागेपछि जनमत पार्टी आन्दोलित बनेको छ ।


