अपडेट 
२०७८ आश्विन २३, शनिबार ०७:०९

जनकपुरधाम । जनकपुरको नीजि विद्यालय ‘मदरटेरेसा पब्लिक स्कूल’ले शुल्क बुझाउन ढिलो गरेका विद्यार्थीलाई सजाय स्वरुप अत्यधिक गर्मी हुने कोठामा परीक्षा लिने गरेको खुलासा भएको छ ।

शुल्क बुझाउन अभिभावकलाई दबाब दिने उदेश्यले स्कूलले गर्मी थेग्न नसकेको कोठामा परीक्षा लिन्छन् । उक्त कोठामा न उज्यालो पुग्छ, न हावा । यद्यपि चर्को गर्मी सहेर विद्यार्थीहरु परीक्षा दिन बाध्य छन् । कक्षा ५ मा अध्ययनरत कमल महतोले पैसा नबुझाएका कारण अत्यधिक गर्मी लाग्ने कोठामा राखेर परीक्षा लिने गरेको गुनासो गरे । उनले भने, ‘ यो कक्षामा भएको हामी सबैले शुल्क बुझाएका छैनौ । त्यसैले यस्तो कोठामा परीक्षा लिइएको छ ।’ टिनको छाना भएकाले भित्र बस्ने अवस्था नरहेपनि सजाय स्वरुप उक्त अन्ध्यारो कोठामा परीक्षा दिनुपर्दा धेरै विद्यार्थी परीक्षा नै छाडेका छन् । गर्मी हुने कोठामा राखेर परीक्षा लिने गरेकै कारण आफ्नो छोराछोरी परीक्षा नै छाडेको अभिभावक आभाष यादवले बताए । उनले भने, ‘सधैं समयमै शुल्क बुझाउथ्यो । यो पटक ढिलो भयो । त्यसैले गर्मी हुने कोठामा राखेर परीक्षा लिदा छोराछोरी विद्यालय आउन मानेका छैनन् ।’ उनले स्कूलले विद्यार्थीमाथि अन्याय गरेको बताए । ‘चर्को शुल्क लिने र समयमा नबुझाएको निहुँमा विद्यार्थीलाई सजाय दिएर स्कूलले सताए’, उनले भने, ‘यसरी विद्यार्थीलाई सजाय दिएर स्कूलले अपराध गरेको छ ।’ यता, स्कूलका प्रिन्सिपल गोबिन्द चन्द्र बाबुले शुल्क बाँकी रहेकै कारण विद्यार्थीलाई अलग राखेर परीक्षा नलिएको दावी गरे । उनले कुनै विद्यार्थीले गुनासो गरेको हो भने सामुने आएर भन्नुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News