जनकपुरधाम । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले समयमा कृषकलाई मलको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कृषि जस्तो सम्मानित पेशा प्रति विगतका सरकारको उपेक्षाका कारण पेशा नै अन्योलमा परेको मन्त्री यादवले चर्चा गरे । जसपाको मधेस प्रदेश कमिटिको बैठकमा सहभागी हुन जनकपुर आएका मन्त्री यादवले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै बजेट अभावमा उपेक्षामा परेको कृषिलाई प्राथमिकताका साथ अगाडि बढाउनेमा जोड दिए । कृषिमा आधुनिकीकरण गर्न बजेट अभाव भएकाले समस्या छ । मन्त्री यादवले भने, ‘कृषिमा आधुनिकीकरण, व्यवसायीकीकरण, औद्योगिकीकरण आवश्यक छ ।’ कृषकलाई मल र बिजमा सहजताकालागि सरकारले योजना ल्याउने उनले स्पष्ट गरे । मन्त्रीको नाम सिफारिसले जसपामा विवाद र असन्तुष्टि बढेको प्रश्नमा मन्त्री यादवले मन्त्रीको संख्या थोरै मन्त्री बन्ने चाहना धेरैको हुने भएकोले समस्या भएको बताउदै पार्टीको निर्णय अनुसार नै मन्त्री चयन भएको दाबी गरे । पार्टी भित्र कुनै विवाद छैन र प्रचार भए जस्तो पार्टी भित्र कुनै असमति छैन, उनले प्रष्ट पारे ।


