अपडेट 
२०७८ आश्विन २५, सोमबार ०६:४६

जनकपुरधाम । दोश्रो साइट नेपाल ओपेन भलिवल च्याम्पियनसिप आइतबारदेखि धनुषाको मिथिला बिहारी नपा–५ ललियामा सुरु भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उमेश रंजितकारले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो ।

दुर्गा पूजा मेला तथा समाज कल्याण संस्था, ललियाले आयोजना गरेको उद्घाटन कार्यक्रममा डीआईजी रंजितकारले खेलाडीले खेलसँगै मन जित्ने गरी खेल्नुपर्ने बताए । अनुशासित समाज निर्माण गर्न खेलकूदको भूमिका महत्वपूण रहेको बताउँदै उनले खेलकूदको विकासमा सबै पक्षलाई सहयोगको लागि आग्रह गरे । स्थानीय नेता रौदी मुखियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डीआईजी रंजितकारले अनुशासित जीवनको लागि खेलकूद अपरिहार्य रहेको बताए । सो अवसरमा रेफ्रि संयोजक भरत यादवले दोश्रो पटक हुन लागेको प्रतियोगितमा देश र विदेशका खेलाडीहरु सहभागी हुन लागेको जानकारी दिए । प्रतियोगितामा भारत बिहार राज्यका खेलाडीहरु पनि सहभागी हुन लागेको बताए । लोकप्रियताले नै भलिवललाई राष्ट्रिय खेल रुपमा स्थापित गराएको उनले तर्क गरे ।

नेपालको राष्ट्रिय खेल भलिवल रहेकोले तराई, पहाड र हिमाल जहाँ पनि लोकप्रिय रहेको उनले दावी गरे । हारजीत खेलको सौन्दर्य रहेको बताउँदै उनले खेलाडीले अनुशासित भएर खेल कौशलको प्रदर्शन गर्नुपर्ने धारणा उनको थियो । साइट नेपालका अध्यक्ष अमित कुमार साहले सामाजिक सद्भाव कायम गर्न खेलकूद उपयुक्त माध्यम रहेको बताए । नियमित रुपमा खेलकूद प्रतियोगिताको आयोजना गरी कुलतमा लागेको युवाहरुलाई पनि खेलमा जोड्न सकिने तर्क उनको थियो । सहायक प्रशिक्षक श्रीप्रसाद यादवको सक्रियतामा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा युवा व्यवसायी शंकर मण्डलले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा वडाध्यक्ष विनोद मण्डलको श्रीमतीसहितलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कोरोना कालमा वडा नं. ५ का वडाध्यक्ष विनोद मण्डलको निधन भएको थियो ।

Comment


Related News

Latest News

Trending News