राजविराज । वैज्ञानिक गाउँ कार्यक्रम लागू हुने सप्तरीको सुरुङ्गा नगरपालिका मुलुककै दोश्रो पालिका बनेको छ । यसअघि उक्त कार्यक्रम गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा लागू भइसकेको छ ।
स्थानीय कृषक र जनप्रतिनिधिको चासो तथा सम्भाव्यता अध्ययनपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकाको चयन गरेको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. जयकान्त राउतले सो जानकारी गराएका हुन् । वैज्ञानिक गाउँ कार्यक्रमका संयोजक समेत रहेका डा. राउतले यस भेगका किसान र जनप्रतिनिधिले देखाएको चासो र स्थलगत अध्ययनपछि मुलुककै दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकालाई चयन गरिएको जानकारी दिए । कार्यक्रम अन्तरगत स्थानीयस्तरमा उत्पादन बृद्धिका लागि च्याउको बिउ उत्पादन प्रयोगशाला समेत स्थापना गरि गतिविधि सुरु गरिएको छ ।
उक्त नगरपालिकाको वडा नं. ३ मा स्थापना गरिएको प्रयोगशालामा ९ लाख ८८ हजार ४ सय ६७ रुपैयाँको वैज्ञानिक उपकरण र औजारसमेत जडान गरि काम सुरु गरिएको नाष्टका प्रशासकीय अधिकृत दिलिपकुमार श्रीवास्तवले जानकारी दिए । कार्यक्रम पुर्ण संचालनका लागि नाष्टले ६० प्रतिशत र सुरुङ्गा नगरपालिकाले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको मेयर मुक्तिनाथ चौधरीले जानकारी दिए । कार्यक्रममा सहभागि हुने कृषकका लागि नाष्टका प्रशिक्षक सुमन महर्जनको नेतृत्वमा प्रशिक्षण कार्यक्रम समेत सुरु गरिएको वडाध्यक्ष रुद्र बहादुर कार्कीले जानकारी दिए
।


