जनकपुरधाम । सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालले कोरोना जाँचको फर्जी रिपोर्ट बनाउने गरेको खुलासा भएको छ ।
‘माईक्रोबायोलोजिष्ट’शुशिल कुमार यादवले छिन्नमस्ता अस्पतालमाथि कारवाहीको मांग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला प्रशासन कार्यालय सप्तरी लगायतका निकायमा उजुरी दिएका छन् । बायोलोजिष्ट यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गरि भनेका छन्, ‘ यस छिन्नमस्ता अस्पतालको लेटर हेडमा २०२१ सेप्टेम्बर महिनाको १२ तारेखमा राजविराज–४ बस्ने मो.राजा अन्सारीको नाममा बनाईएको कोरोना रिपोर्ट फर्जी रहेको तथ्य फेला परेको छ ।
’ छिन्नमस्ता अस्पतालमा पीसीआर मेशिन नभएपनि गैरकानुनी काम भएको बताउँदै उनले भने, ‘ मेरो फर्जी हस्ताक्षर गरेको छ अस्पतालको लेटरप्याडमा, जबकी मैले त्यहाँ काम छाडेको १ वर्ष बढी पुगिसक्यो ।
’ २०७७ जेठमै अस्पतालबाट विदा लिएका बायोलोजिष्ट यादवको फर्जी हस्ताक्षर बाहिर आएपछि अस्पतालको यस्तो तथ्य बाहिर आएको हो ।
बायोलोजिष्ट यादवले राजविराजमा स्व.गजेन्द्र नारायण सिंह अस्पताल बाहेकका स्थानमा पीसीआर मेशिन नरहेको दावी गर्दै गैरकानुनी काम गर्ने र बायोलोजिष्टलाई समेत बदनाम गर्ने काम गरेकोले विज्ञप्ति मार्फत अस्पतालमाथि कारवाहीको मांग गरेका छन् ।


