अपडेट 
२०७८ आश्विन २७, बुधबार ०७:०४

दशहरा (विजयादशमी) पर्व सम्पुर्ण भारत वर्षमा धूमधामका साथ मनाइन्छ । तर मिथिलामा भने दशै भिन्न रुपमा मनाईने चलन छ । हाम्रो मैथिल समाजमा दुर्गालाई शक्तिको रुपमा लिईन्छ । हिन्दु परम्परा अनुसार दशैको घटस्थापना पूर्वदेखि नै यहाँका शक्तिपीठहरुलाई बेहुली झैं सजाउने गरिएको छ । अहिले त यहाँका युवा, विभिन्न सामाजिक संघसंस्थाहरुले झन दशैंलाई आकर्षक बनाउन मूर्ति निर्माणदेखि ठाँउ–ठाँउमा प्रवेशद्वार, पण्डाल निर्माण तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेका छन् । केहि वर्ष अघि सम्म दशैंमा प्रत्येक घरको मूलद्वारमा वा घरको पर्खालमा दुर्गा देवीको आकृति बनाउने चलन थियो । कारण मिथिला समाजले दुर्गालाई बेटी(छोरी) को रुपमा लिने गरेको छ । दुर्गालाई भव्य रुपमा स्वागत गर्ने र विदाईको दिन दुःख व्यक्त गर्ने गरिन्छ । शहरी क्षेत्रमा आकृति कम बनाईए पनि ग्रामिण क्षेत्रमा दुर्गाको आकृति बनाउने चलन अझै कायमै छ । मिथिलामा दुर्गालाई किन बेटीको रुपमा मानिन्छ भने हिन्दु पुराणमा एउटा कथा छ । भगवानले रावणलाई वध (हत्या) गरेपछि सीताले भगवान रामलाई एउटा प्रश्न गर्छिन, तपाईले रावणलाई त मार्नु भयो । तर पातालमा रहेका राक्षसलाई मार्न सक्नु हुन्छ ? किन सक्दैन र ! जाउँ पातालपुरीमा भन्दै रामले सीतालाई भनेछन् । त्यसपछि राम सीता, लक्ष्मण सहितका भगवानहरुको टोली पतालपुरीमा राक्षससँग लड्न पुग्छन् । राक्षससंगको युद्धमा रामले धेरै क्षति व्यहोरे पनि राक्षसलाई जित्न सकिरहेका थिएनन । यहाँ सम्मकी राक्षसहरुले रामको भाई लक्ष्मणलाई नियन्त्रणमा लिई बन्धक समेत बनाउँछ । यो अवस्था देखेर सीता निकै आक्रोशित भई कालीको रुप धारण गर्छिन । सीताले कालीको रुप लिएपछि पातालदेखि पुथ्वी सम्म हलिन्न थाल्छन् । महाप्रलय हुन्छ । कालीको आक्रोशलाई शान्त गर्न भगवान शिव स्वय्म पातालपुरी पुग्छन् ।

आक्रोशको आगोले अन्धो जस्तो भएकी कालीले बाटोमै पल्टिरहेका शिवलाई खुट्टाले कुल्चिन पुग्छिन । त्यसपछि भगवान शिवमाथि खुट्टा पर्दा अत्तिएर माँ कालीको जिब्रो बाहिर निस्किन्छ । त्यसैले कालिको अधिकतम् प्रतिमामा जिब्रो निकालिएको रौद्र रुप नै देखिने गरेको छ । यसरी मिथिलाको छोरी सीता नै कालीको रुप धारण गरी असत्यमाथि सत्यको विजय भएको भनेर मिथिलावासी गौरव गर्छन । अन्य स्थानमा दशैलाई आदिशक्ति, वीजशक्ति, परमात्माशक्तिको रुपमा पूजा गरिन्छ तर हाम्रो समाजमा परमात्माशक्तिको साथ–साथै भावको रुपमा पनि दुर्गालाई लिने गरिन्छ । करिव ६÷७ दशक अघि मैथिल समाजमा दशै आउने बित्तिकै बोक्सीको आतंक आएको भन्ने चलन थियो । दशै आएपछि आमाबुवाले आफ्ना छोराछोरीको घाँटीमा कालो कपडामा लसुन, हिङग बाँध्ने गर्थे जसले गर्दा । बोक्सीको जादु टोनाबाट जोगिन सकिन्छ भन्ने मान्यता रहिआएको छ । अर्को कुरा मैथिल समाजमा झिझिया खेल्ने परम्परा लामो समयदेखि रहँदै आएको छ । बोक्सीको आतंक नबढोस् त्यसका लागि महिलाहरु झिझिया खेल्ने गर्छन् । माटोको घँैटा बनाई त्यसमा असंख्य प्वालहरु बनाईन्छ । झिझिया खेलीरहेको बेलामा कुनै बोक्सीले ती प्वालहरु गिन्ती गरेमा घँैटो बोक्ने महिलाको मृत्यु हुन्छ भन्ने अन्धविश्वास अझै कायम छ । झिझियाको बीचमा दियो बाल्न प्रत्येक घरबाट तेल लिइने चलन छ । तेल प्रत्येक घरबाट किन लिइन्छ भने यसको पनि कारण छ । असत्य वा अपराधलाई हटाउन तथा लड्न सामूहिक प्रयासले सम्भव छ भन्ने जनचेतनाको विकास झिझियाले सिकाउँछ । त्यसैगरी दशैको समयमा विभिन्न सडकबाटोमा चक्कर बनाउने गरिन्थ्यो । सिद्धिशक्ति प्राप्तिको लागि चक्कर बनाउने चलन थियो । सम्मोहन,उच्चारण लगायतका मन्त्रहरुको सिद्धिको लागि चक्कर बनाईन्थिो । दशैको अवधि भरि बोक्सीहरु श्मसान घाटमा गएर मुर्दाको खप्परमा खीर खाएमा बढी दैव्य शक्ति प्राप्तहुने मान्यता रहिआएको छ । बोक्सीहरु श्मसान घाटमा गएर खीर खाने तथा मरेका बच्चाहरुको शवलाई उखेलेर शवमा तेल लगाउने जस्ता क्रियाकलाप गरेको देखेमा बोक्सीको मृत्यु हुने र बोक्सीले नै पहिला ती व्यक्तिलाई देखेमा त्यस व्यक्तिको मृत्यु हुने अन्धविश्वास रहेको थियो । यि अन्धविश्वासकै कारण मेरो काकाको मृत्यु पनि भयो । काका विशेश्वर कुनै काम विशेषले चक्कर भन्ने गाउँमा गएका थिए । त्यहाँ सडकमा बनाईएको चक्कर नाघेपछि उहाँको मृत्यु भयो । चक्कर प्रति उहाँको मनमा रहेको डर त्रास भयले नै उहाँको मृत्यु भएको थियो ।

कारण चक्कर नाघिदैमा मृत्यु हुन्छ भन्ने भ्रममात्रै थियो त्यतिवेला । म आफै कति पटक त्यस्ता चक्करहरुलाई नाघेको छु । तर केहि भएन । यी अन्धविश्वासहरु विस्तारै– विस्तारै हराउँदै गएको छ । एकातिर दशैंमा जादू–टोना सम्बन्धि भ्रम हट्दै गएको छ भने अर्को तर्फ विभिन्न प्रकारको विकृतिले स्थान पाउंदै गएको देखिन्छ । पहिला–पहिला दशैको बेला दुर्गाको प्रतिमा(मुर्ति) बनाउने चलन थिएन । सीता स्वय्म जनकपुरमा विराजमान भएकोले मूर्ति÷ प्रतिमा बनाएर कहिँ कत्तै पनि दुर्गा पूजा मनाउने चलन थिएन । तर अहिले नागपञ्चमीमा नागको मूर्तिदेखि विश्वकर्मा सम्मका भगवानको मुर्ति चोक–चोकमा बनाउने चलन सुरु भएको छ । पहिला–पहिला आस्थाले ती भगवानहरुको पूजा –अर्चना गरिन्थ्यो । तर अहिले पूजा–अर्चनामा र श्रद्धाभावमा पनि मनोरञ्जन गर्नेको कुनै कमी छैन । मूर्तिकै अगाडि नाटक, आरकेस्ट्रा जस्ता सांगीतिक कार्यक्रमको आयोजना हुने गरेको छ । भक्ति दर्शनलाई छाडेर विभिन्न भोजपुरी अश्लील गीतहरुमा कम्मर हल्लाउने यूवाहरुको संख्या बढ्दै गएको छ । मुर्तिको पूजाको परम्परा वेदकालमा पनि थिएन । इन्द्र, वरुण जस्ताको पूजा गरिन्थ्यो तर मूर्तिको पुर्जा गर्ने परम्परा चाँही थिएन । तर पनि पछिल्लो समयमा बिना मूर्तिको पूजा गर्नेहरुको संख्यापनि कम हुदै गएको छ । इस्लाम धर्ममा हजरत मोहम्मद आउनु भन्दा पूर्व साउदी अरवमा पनि भूतपरस्तीहरुको पूजा गरिन्थ्यो । तर उहाँको आगमनपछि विस्तारै मुर्ति पुजा हराउदै गयो । श्रीमद्भागवतमा मात्रै मूर्तिको पूजाको वर्णन गरिएको छ । श्रीमद्भागवत ढुङगा, काठ , फलामको मूर्ति बनाउनु र मनमनै मुर्ति बनाएर पूजागर्नु लगायतका मूर्तिको विषयमा चर्चा गरिएको पाईन्छ । अहिले त मूर्तिको विर्सजनका बेलामापनि विभिन्न किसिमको विवाद हुने गरेको छ । भतिmभाव गर्नु राम्रो कार्य नै हो । गर्नुपर्छ । कुनै पनि धर्मले गलत क्रियाकलापलाई प्रोत्साहन गर्दैन । यो साकेंतभुमि अर्थात शक्तिको भूमि हो । मानवको उत्पति पनि कुनै शक्ति उर्जाले नै भएको छ । अहिलेको ठिक के हो भन्ने, घर घरमा भक्तिभाव हुन थालेको छ । तर भक्तिभावको नाममा ध्वनि प्रदूषण बढेर गएको छ । जलप्रदूषण , वायू प्रदूषण लगायतका अवस्था थिएन । दशैंबारे फरक–फरक कथाहरु सुन्न पाईन्छ । देवासुर संग्राम अर्थात देउता र राक्षसको संग्राम । जतिवेला पुथ्वीका पालक भागवान विष्णु योग निद्रामा सुतिरहेका थिए । दुर्गा निद्राको रुपमा विष्णुको आखाँमा वास गरि हरहेको हुन्छ भन्ने मान्यता छ ।

योग निद्राका कारण विष्णुको कानमा जमेको फोहरबाट दुई वटा राक्षसको जन्म हुन्छ । त्यस्तोमा यो संसारको अवस्था के होला ।? त्यस्तै अर्को कथा छ शुंम्भ र निशुंम्भ राक्षस दुई दाजुभाई थिए । उनीहरुले इन्द्रलोकलाई नै कब्जा गरी देउताहरुलाई दुःख दिन थाले । त्यसलाई परास्त गर्न देउताहरुले आ–आफ्ना शरीरको एक–एकअंग दिएपछि दुर्गाको जन्म हुन्छ । यसरी असत्यमाथि सत्यको विजयको लागि फरक– फरक कथाहरु दशैसँग जोडिएको छ । दशै ९ दिनदिन सम्म मनाइन्छ । दुर्गाकै ९ वटा रुपलाई ९ दिन सम्म पूजा गरिन्छ । सीता,सरस्वती, काली, लक्ष्मी सबै दुर्गाका रुपमा हुन् । दशैमा यी सबै देउताको पूजा गरिन्छ । त्यस्तै, दशैलाई नवरात्री अर्थात ९ रात र १० दिन सम्म मनाइन्छ । दशैको ९ दिनलाई अर्को रुपमा पनि वर्णन गरिएको छ । पुरुषको शरीरमा ९ वटा द्वार छन्, जस्तै दुई आँखा, दुई कान, दुई नाकका प्वाल, एक मुख,एक मुत्रद्वार र एक मलद्वार । त्यसैगरी, महिलामा १० वटाद्वार हुन्छ । उनीहरुमा विर्य ग्रहण गर्ने द्वार थप हुन्छ । शरीरका यी द्वारहरुलाई शक्ति सम्पन्न बनाउन पनि दुर्गा पूजा गरिन्छ । तर यी द्वारहरु अहिले विभिन्न मोह र विषय सुःख कामवासनाले ग्रस्त छ । आँखाले बढी भन्दा बढी वस्तु हेर्न चाहन्छ,कानले बढी भन्दा बढी गलत सुन्न रुचाउँछ, मुखले बढी भन्दा बढी वस्तुको स्वाद लिन चाहन्छ । तर यी पाँच वटा तनमात्राको आकांक्षा कहिल्यै पुरा गर्न सक्दैन । कारण आँखाले सधै एकपछि अर्को नयाँ वस्तु हेर्न चाहन्छ । आँखाको हेर्ने इच्छाको सीमा छैन । त्यस्तै कान पनि यस्तो खोजिमा हुन्छ । यी पाँचतन मात्रालाई नियन्त्रण गर्न सकेमा देश समाज र विश्व तथा मानवजातिको नै कल्याण हुन्छ । तर अहिले हामी यी पाँचतन मात्रालाई नियन्त्रण वा आफ्नो वसमा राख्नुको साटो त्यसकै पछि पछि लाग्छौ । दशैले अर्थात नवरात्राले हामीलाई थोरै भएपनि यी शक्तिलाई नियन्त्रण गर्न सक्छ ।

Comment


Related News

Latest News

Trending News