जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठुलो क्षति हुने दावी गरेका छन् ।
विगत केहि दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधिले सोमबार पत्रकार हरुसँग कुराकानी गर्दै पार्टीको जनाधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए । काँग्रेसको आधारभुमि पुर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको छ, नेता निधिले भने,‘ काँग्रेस जहिले पनि मधेशकै भोटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोग बिना काँग्रेस कहिलेपनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण काँग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शिर्ष नेताहरुले पनि यो कुरा बुझिरहेका छन् । तर अव मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरुको हातमा छ ।’ मधेशका जिल्लाहरुको भ्रमणमा जादा नेता तथा कार्यकर्ताहरुले आफुले सभापतिमा उम्मेदवारी दिएकोमा खुशि भएको र शुभकामना पनि दिएको नेता निधिले बताए । पार्टीलाई मधेश र देशमा मजबुत बनाउन आफुले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले भने,‘ पार्टीका अधिकांश शिर्ष नेताहरुबाट पार्टीलाई मधेशको सहयोगको आवश्यक छ, तपाई अगाडी आउनुस् हामी सहयोग गर्छौ भनेर आश्वासन पाएको छु ।
मलाई लाग्छ उहाँहरुले मलाई सभापतिमा सहयोग गर्नु हुन्छ ।’ पार्टीका शिर्ष नेताहरु रामचन्द्र पौडेल, शशांक कोईराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भईरहेको नेता निधिले बताए । पार्टीको महाधिवेशनमा सत्ताको दुरुपयोग नहुनेमा आफु विश्वस्त रहेको नेता निधिले बताए ।


