अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
गृहमन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा कालिकोट र डडेलधुराका एक÷एक, सुनसरी र डोटीका दुई÷दुई जना छन् । पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकीन विवरण आउन नसकेको पोखरेलले बताउनुभयो । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमका अनुसार उक्त क्षेत्रमा प्रहरीको टोली घटनास्थलमा गएको भए पनि पुग्न सकेका छैनन् । एक किलोमिटर माथिबाट पहिरो खसेर घर बगाएको जानकारी प्राप्त भएको उनले बताए । अहिलेसम्म कञ्चनपुरलगायत विभिन्न जिल्लाका ५०० जनाको उद्धार गरिएको छ । अहिलेसम्मको प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा विद्युत् र फोनसेवासमेत अवरुद्ध भएको छ । भौतिक क्षति धेरै भएको जनाइएको छ । महाकाली नदीको खतराको तह सात मिटर रहेकामा झण्डै नौ मिटरमा बगिरहेको जनाइएको छ । मनसुनी वायु प्रणाली बाहिरिएका बेला छुट्टै खालको नयाँ प्रणाली विकास भएर तहसनहस भएको छ । कृषिमा ठूलो असर गरेको प्राधिकरणका प्रमुख पोखरेलले बताए । उनले प्रदेश २ मा समेत वर्षा हुने भएकाले उच्च सतर्कतामा रहन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन गरिएको छ । बर्षाले मुलुक भर भएको क्षतिको विवरण संकलन र उद्धारका कार्यलाई तीव्रता दिन मंगलवार साँझ गृहमन्त्रालयको आकस्मिक बैठक बसेको थियो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले राहत र उद्धारमा तत्कालै परिचालन हुन, विस्थापितलाई अस्थायी आश्रयस्थलमा सुरक्षित साथ राख्न र अवरुद्ध भएका सडक, विद्युत् तथा टेलिफोन सेवा तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बैठकमा कृषि क्षेत्रमा भएको क्षतिलगायत समग्रको विवरण सङ्कलन कार्य तीव्र पार्ने निर्णय पनि गरिएको छ । छलफल विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक छिट्टै गर्ने निर्णय पनि भएको पोखरेलले जानकारी दिए । बैठकमा मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले देशभरको बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी गराएका थिए । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकारीले उद्धार कार्य र सूचना सङ्कलनको प्रगति विवरणबारे जानकारी गराए ।

