विगत तीन दिनदेखि परिरहेको अबिरल वर्षाले सप्तरी जिल्लाको सयौ घर डुबानमा परेको छ ।
निरन्तरको वर्षाले सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र राजविराज नगरपालिकाका अधिकाँश वडा डुबानमा परेको छ । महुली खोलामा आएको बाढीले बाँध भत्काउदा हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित दलित बस्तीका ५० घर डुबानमा परेको स्थानीयले बताए । महुली खोलामा पानीको उच्च बहावले महुली पुलदेखि १० मिटर पूर्व गिदखोरा भन्ने स्थानमा बाँध भत्काउदा बाढीको पानी बस्तीमा प्रवेश गरेको छ । बाढीको पानी पस्दा दलित वस्तीको ५० घर डुवानमा परेको स्थानीयले जानकारी दिए । यस्तै जिता नदीको बाढीले तिलाठी कोईलाडी गाउँपालिका ५ मा बर्साईनस्थित बाँध भत्किदा ५० घर डुबानमा परेको विपद ब्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । बाढीले सोही गाउँपालिका ३ सरकपुरा टोल जाने मुख्य सडक करिब १५ मिटर बगाएपछि आवागमन समेत अवरुद्ध भएको उनले जानकारी दिए । यस्तै हनुमाननगर कंकालीनी नगरपालिकाको वडा ४,८,११ र १३ तिलाठी कोइलाडी गाउँपालिकाको १,२,३ र ८ तथा राजविराज नगरपालिकाको ५,७,८,१० र ११ वडाका विभिन्न बस्ती डुबानमा परेको छ । बाढीको पानी घरबाटै बगिरहदा पीडितको विचल्ली भएको छ ।
घरहरु डुबानमा परेपनि मानवीय क्षति भने नभएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बाढीले भत्काएका बाँधहरुमा सम्बन्धित नगर र गाउँपालिका तथा प्रहरीको सहयोगमा तारजाली र ढुंगाले मर्मतको काम भईरहेको छ । सप्तकोशीको ४१ वटा ढोका खोलियो यता निरन्तरको वर्षाले सप्तरी–सुनसरीको बीच सिमामा पर्ने सप्तकोशी नदीमा यस वर्ष कै उच्च पानीको वहाव पुगेको छ । बुधवार दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ६३ हजार २ सय ७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । डिएसपी काप्mलेले पानीको वहाव बढेसंगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ४१ वटा ढोका खुल्ला गरिएको जानकारी दिए । पानीको वहाव उच्च भएपछि सर्वसाधारणलाई सचेत गर्नका निम्ती खतराको संकेत रातो बत्ती समेत बालिएको छ । यता निरन्तरको वर्षाले राजविराजस्थित सरकारी वकिल कार्यालय, जिल्ला अदालत,घरेलु तथा साना उधोग कार्यालय, राजविराज भन्सार कार्यलय, जलाधार नियन्त्रण कार्यालय लगायतका सरकारी कार्यालय पनि जलमग्न भएका छन् ।


