संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख ई. राजेश कुशवाहालाई अद्र्धनग्न पारेर नगर परिक्रमा घुमाउने विरुद्ध कारबाहीको माग गर्दै प्रदेश २ स्थित पेशागत संघसंगठनले आइतबार प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवको अगुवाईमा रहेका पेशागत संघसंगठनका नेताहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रमुख सचिव हरिप्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाएका हुन् । कार्यालयभित्र प्रवेश गरी ई. कुशवाहालाई कुटपीट गर्दै अद्र्धनग्न पारी नगर घुमाएको घटनाको पेशागत संघसंगठनहरुले भत्र्सना समेत गरेको छ । कानूनी राज्यको उपहास गर्दै उदण्डता प्रदर्शन गर्नेमाथि कारबाही गर्नुपर्ने माग समेत गरेका छन् । उक्त घटनाको विरोधमा संघसंगठनहरुले थालेको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै कारबाही नभए थप आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । नेपाल निजामति कर्मचारी यूनियनका प्रदेश अध्यक्ष राजकिशोर राउत, नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष शिवजी दास, संघीय शिक्षक फोरम, नेपालका प्रदेश सचिव नन्द किशोर तिवारी, नेपाल स्वास्थ्यकर्मी यूनियनका प्रदेश संयोजक रामबाबु ठाकुर, कृषि विकास बैंक तथा नेपाल वि.स.क.संघ प्रदेश २ का प्रदेश सचिव सत्यनारायण मण्डल, कृषि विकास बैंक तथा ने.वि.सं.क. संघ प्रदेश २ का अध्यक्ष संतोष कुमार चौधरी र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सचिव मोहन यादवद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्र प्रमुख सचिव मैनाली, सहित धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोला लगायतलाई बुझाएका थिए ।


