गौर । महिला तथा बालबालिकाको अधिकार तथा लैंगिक विभेद विरुद्धको अभियानमा सहयोग पुर्याएका टुडेकर्मीसहित रौतहटका सात जना पत्रकार सम्मानित भएका छन् ।
मंगलवार गौरमा आयोजित एक कार्यक्रमका बीच जनकपुर टुडेका रौतहट समारचारदाता राकेश यादवसहितका पत्रकारलाई सम्मानित गरिएको हो । इस्लामिक रिलिफ क्यानाडाको सहयोगमा संचालित समान र न्यायिक समाजको लागि लैंगिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत ग्रामीण विकास केन्द्र नेपाल रौतहटले विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीलाई नगदसहित सम्मान पत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले पत्रकारिता समाज परिवर्तनको संवाहक र राज्यको नीति नियमको जनतालाई जानकारी गराउने महत्वपूर्ण माध्यम रहेको बताए । मुलुकको परिवर्तन र विकासमा संचार जगतको भूमिका अति नै महत्वपूर्ण रहेकोले आवाज विहीनको आवाज बन्ने प्रयास गर्नुपर्ने धारणा राखे । राज्य पक्षबाट भएको कमी कमजोरीलाई आमनागरिक समक्ष र आम नागरिकको समस्या राज्य समक्ष पुर्याउने कार्य पत्रकरिता भएकोले सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघले गठन गरेको छनौट समितिका संयोजक बरिष्ठ पत्रकार विनय कुमार लालदासले गरेको सिफारिसको आधारमा आयोजक संस्थाले सम्मान गरेको थियो । पारस हुसैनको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य शैलेन्द्र झा ,नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी , नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झा , सशस्त्र प्रहरीका ससस्त्र प्रहरी उपरीक्षक सुरज बहादुर सेन ओली ,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मुकुन्द बहादुर खड्का नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरिया लगायतका उपस्थति रहेका थिए ।


