जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–२ परशुराम तलाउ नजिक एक पुरुषको शव फेला परेको छ ।
पुरनदाहा चौर हुँदै बग्ने नदीमा सडे गलेको अवस्थामा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जितेन्द्र बस्नेतले जनाए । घाँस काट्न गएकी महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नदीमा रहेको शव सडेर दुर्गन्धित भएको थियो । धनुषाधाम नगरपालिका–५ स्थित नौसय बिग्घा बस्ने अन्देश यादवको शव रहेको उनका भाई दिनेश यादवले सनाखत गरेका छन् । जिन्स पैन्ट तथा घडीले उनको पहिचान गरिएको दिनेशले बताए । तर, जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले शवको पहिचान भईनसकेको जानकारी दिए । मृतक यादव विजयादशमीको सप्तमीकै दिनदेखि घरबाट सम्पर्कविहीन रहेको दिनेशले बताए । पानीमा सडेको कारण शवको अनुहार पहिचान हुन नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
चार महिना अघि धनुषाधाम नगरपालिका–३ काशीपुर निवासी एक महिलाले मृतक अन्देश लगायत चार जनामाथि करणी मुद्दा दर्ता गराएकी थिईन् । सो मुद्दामा फरार रहेको अन्देश सुरक्षित नै छ भनेर परिवारजन ढुक्क रहेकोले यतिका दिन सम्म सम्पर्क विहीन हुँदा पनि खोजतलाशको लागि कुनै प्रयास नगरिएको स्थानीयवासीहरुले जानकारी दिए ।
https://www.youtube.com/watch?v=edLufbJTMAk


