२०७८ कार्तिक ११, बिहीबार ०७:३८

राजविराज । बंगलादेशमा हालै हिन्दुहरुमाथि भएको हिंसात्मक घटनाको विरोधमा राजविराजमा प्रदर्शन गरिएको छ ।

विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा बुधबार हिन्दुवादी संघसंगठनको संयुक्त सहभागितामा सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले सो क्रममा हिन्दु धर्मावलम्बीमाथि भएको आक्रमणको पक्षमा अभिव्यक्ति दिएकी बंगलादेश नेस्नलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको पुतला समेत दहन गरेका छन् । स्थानीय शिवमन्दिरमा संयौको संख्यामा भेला भएका हिन्दु धर्मावलम्बीहरुले बेगम खालिदा जिया विरुद्ध चर्का नाराबाजी गर्दै बजार क्षेत्रमा परिक्रमा गरेका थिए । जुलुस जनआन्दोलन चौक पुगेपछि प्रदर्शनकारीले जियाको पुतला दहन गरेका थिए । विश्व हिन्दु परिषद् सत्संग विभागका सहसंयोजक जंगबहादुर सिंहले हिन्दुमाथि हत्या हिंसा गर्ने आक्रमणकारीको पक्षमा जियाले अभिव्यक्ति दिएकाले उनको पुतला दहन गरिएको बताए ।

प्रदर्शनपछि आयोजित कोणसभामा परिषद्का जिल्ला अध्यक्ष रामकिसुन साह, सचिव दिगम्बर यादव, हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक रमाकान्त यादव, हिन्दुवादी अगुवा भोगेन्द्र झा लगायतले बोल्दै बंगलादेशमा हिन्दु धर्मावलम्बी तथा मन्दिर हरुमा भएको आक्रमणलाई आंतकवादी कार्यको संज्ञा दिए । उनीहरुले उक्त अमानवीय घटनामा संलग्न दोषीहरुलाई कडा कारवाहीका लागि विश्वभरबाट नै हिन्दु समुदायले दवाव दिनु पर्नेमा जोड दिएका थिए ।

Comment


Related News

Latest News

Trending News