राजविराज । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा बेपत्ता भएका एक युवाको नौ दिनपछि शव भेटिएको छ ।
प्रहरीका अनुसार जिता खोलामा आएको बाढीले कात्तिक ३ गते बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भेटिएको हो । मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचायत १० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको प्रहरीले बताए । तिहार र छठ पर्वका लागि भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घटनास्थल र आसपास क्षेत्रमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेपनि फेला परेको थिएन् । भारतीय क्षेत्रमा मण्डलको शव भेटिएको जानकारी आएपछि भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि शव पीडित परिवारको जिम्मा लगाइएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।


