जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–८ रामनगरामा नागरिक आरोग्य सेवा केन्द्र निर्माण हुने भएको छ ।
शुक्रबार एक कार्यक्रम बीच नगरपालिकाका मेयर रामज्ञान मण्डलले केन्द्रको भवनको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मेयर मण्डलले अंग्रेजी औषधीको नकारात्मक असर समेत रहेको जिकिर गर्दै आयुर्वेदलाई प्राथमिकता दिएको बताए । सबै नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी पालिकाको रहेको बताउँदै उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाएको बताए । वडाध्यक्ष जीवछ मण्डलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र निर्माण गर्ने हंसपुर नेपालकै पहिलो पालिका बनेको दावी गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका उपमहानिर्देशक डा. श्याम बाबु यादवले नेपालका ७ सय ५३ पालिकामा हंसपुर सबैभन्दा अगाडि रहेको बताउँदै आरोग्य केन्द्र निर्माण गरेर यो पालिका आयुर्वेदलाई प्राथमिकता दिएको बताए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति बेचन मण्डलले जनताको चाहना अनुसारको योजनाहरु ल्याएर मेयरले जनविकासको अनुभूति गराएको बताए । वडा नम्बर ३ का वडाध्यक्ष उदय सिंह, आयुर्वेद औषधालयका प्रमुख डा. सीमा झा, नेकाका पूर्व क्षेत्रीय सभापति रामकृष्ण मण्डल, लोसपाका नगर संयोजक लालबाबु यादव, प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, जसपाका वडा प्रत्यासी सुवर्ण मण्डल, लगायत दर्जनौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
शिलान्यास कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले नागरिक आरोग्य सेवा केन्द्र निर्माण भएपछि सर्वसाधारणले आयुर्वेदिक उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । सो अवसरमा मेयर मण्डलले आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धनको लागि कोशे ढुँगा साबित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नपाको आयुर्वेद शाखाका प्रमुख रामछविला यादवले आरोग्य सेवा केन्द्रको स्थापनालाई ऐतिहासिक कार्यको संज्ञा दिए । कार्यक्रममा पाँच प्रकारको जडीबुटी पनि वितरण गरिएको जनाईएको छ ।