अपडेट 
२०७८ कार्तिक १३, शनिबार ०७:५१

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका मदमत्त नेता कार्यकर्ताहरुले अराजक शैलीमा अनुहारमा नालाको फोहर दलेर नगर परिक्रमा गराई रहेका संघीय खानेपानी तथा ढल निकास कार्यालयका डिभिजनल इन्जिनियर राजेश कुशवाहाको भावुक तस्वीर राखेर , २१ अक्टुवर अर्थात् कातिक ४ गते म आफैले आफ्नो फेसबूकमा स्टेटस लेखेको थिए – ‘ यो फोहर कथित भ्रष्टमाथि भन्दा पनि सरकार र स्थानीय प्रशासनको अनुहारमा दलिएको हो । सभ्य समाजमा यस्तो हर्कत मान्य हुन सक्दैन । ’ आज एक साता पुरानो यसै स्टेटसबाट विषयवस्तु उठान गर्न चाहे । मेरो निजी विचारसंग सहमति र विमती राख्ने नैसर्गिक अधिकार सबैलाई छ । सबैले घटनाको पक्ष र विपक्षमा अ–आफ्ना विचार राखे । राख्नु पनि पर्दछ । कारण यी र समाजमा नित्य घटित हुने यस्ता घटनाहरुको विषयमा वहस , छलफल भएन भने समाजिक व्यवस्था धूलिसात हुन्छ । नागरिक समाजको समयसापेक्ष खबरदारी भएन भन्ने अराजकता मौलाउछ । मैले लेखेको भोलीपल्ट अर्थात् कातिक ५ गते युवा अभियानी सरोज मिश्रले पनि आफ्नो फेसबुक वालमा सिके राउतसहित मधेस केन्द्रित दलका आधा दर्जन नेताको फोटो राखेर एउटा स्टेटस लेखेका थिए ….. ‘सी.के.राउत संस्थागत अपराध तर्फ उन्मुख हुँदै तर वास्तबमा कानूनी राज्यको अभाव पनि । प्रत्येक पार्टी, नेता र जनता इमान्दार हुनु आवश्यक अनि मात्र भ्रष्टाचार न्यूनीकरण सम्भव छ । ’ यी दुई प्रतिनिधि अभिव्यक्ति हुन् । जसबाट समाजको स्वर , तेबर तथा मूड बुझ्न गाह्रो हुदैन । जनता भ्रष्टाचार , सेवा प्रदायक निकायद्वारा जनहितमा गर्ने /गराउने काममा ढिला सुस्ती , राजनीतिक पहुंचवालाको काम हुने /सर्वसाधारण सेवाबाट वंचित हुने तथा जनताको करबाट तलव भत्ता खाने राष्ट्रसेवकहरुको मनमौजी प्रवृतिबाट वाक्क दिक्क भई सकेका छन् भन्ने बुझ्न गाह्रो हुदैन । साथै जनता सरकारी सेवा समयमा मिलोस , भ्रष्टाचारमुक्त समाज निर्माण होस , राष्ट्रसेवक सेवक जस्तो व्यावहार गरोस शासक बन्ने भ्रम त्याग गरोस अनि भ्रष्टाचार निवारणका लागी गठित संवैधानिक निकायहरु सकृयता बढाओस भन्ने परिकल्ना पनि गरेका छन् भन्ने पनि बुझ्न सकिन्छ । निचोडमा भन्नु पर्दा समग्र व्यवस्थामा सुधार भएन भने जनता न्यायको लागी स्वयं सडकमा उत्रिन सक्छन अनि अन्य कुशवाहाहरुले पनि यस्तै हविगतको सामना गर्नु पर्ने छ । आखिर मरता क्या नही करता ….? समाजको स्वर सुन्दा र पढदा ठम्याउन गाह्रो छैन – आमजन भ्रष्टाचार र सिके प्रवृति दुबैको विपक्षमा छन् ।

उनिहरुको सदीक्षा छ मुलुक भ्रष्टाचारमुक्त होउन अनि कसैलाई पनि सिके राउतको पथ पहिल्याउन नपरोस । यद्यपि यो आदर्श वाक्य वा भनौभने महानवाणीजस्तो लाग्न सक्ला तर मुलुकमा व्याप्त भ्रष्टाचार र छाडापन रोकिएन भन्ने सिके राउत प्रवृतिलाई रोक्न गाह्रै हुन्छ । उदाहरण खोज्नै पर्दैन । हाम्रो सामुनै छ । एउटा हत्या आरोपमा सयौं जनामाथि ज्यान मुद्दा चलाईन्छ । साहु महाजनको रजगत उत्कर्षमा पुग्छ । राज्य संचालकहरु मालिक बन्ने सपना देख्न थाल्छन् । राजाको महाराजा बन्ने सपना परवान चढन थाल्छन् अनि माओवादी जनयुद्ध सुरु हुन्छ । जसको प्रतिफल मुलुकमा गणतन्त्र त आउ“छ तर हाम्रा १७ हजार भन्दा अधिक होनहार युवा युवतीले वलिदानी दिनु पर्दछ । समाजलाई अर्को द्वन्दबाट जोगाउन पनि मुलुकमा विधिको शासन हुनु पर्दछ । जनतालाई मालिक बनाउने विधि तथा प्रकृयालाई संस्थागत गर्नै पर्दछ । सिके राउतमाथि दह्रो आरोप छ उनको घर अगाडीको सडक मर्मत नगरिएको आक्रोशमा यो घटना घटाइएको थियो । आरोप सत्य पनि हुन सक्छ । कारण दिनमा घटना घट्यो अनि रातिदेखि सिके राउतको घर अगाडीको सडक धमाधम निर्माण हुदै गरेको दृश्य अनेकौ स्थानीयवासीले देखे । केही संचार माध्यमहरुले सडक र स्थानीयवासीको बाइट सहितको अडियो भिडियो पनि अ–आफ्ना चैनलमा राखे । घटना घटेको १२ घन्टा नबित्दै काम सुचारु भएको देखेर आम जनताले सोझो सवाल तेर्साए – कथित जनकारवाही गरिएको लगत्तै काम सुचारु गर्ने सरकारी निकाय यतिका दिनसम्म के हेरेर बसेका थिए ? सिके राउत प्रवृति आजको आवश्यकता त होइन ? यस्ता विचार समाजमा प्रवाहित र संस्थागत हुनु भन्दा पहिले ढिलासुस्ती प्रवृतिमाथि लगाम लगाउनु उति होला जस्तो मलाई लाग्छ । यस घटनामा उल्झिनु भन्दा पनि मलाई अर्को प्रशग उठाउन मन लाग्यो । रामानन्दचौक –कुर्था सडक र परिक्रमा सडक पछिल्लो तीन चार महिनादेखि हिलाम्मै रहेको पनि हामीले देखेका छौं । यसको विरोधमा कुर्थावासीहरुले अनेकौ पटक सडक अवरुद्ध गरे ।

टोलवासीले नगरपालिका, सडक तथा ढल विकास कार्यालयलगायतका सरोकारवाला निकायहरुमा लिखित तथा मौखिक ध्यानाकर्षण गराए । तर हाथ लाग्यो सून्य । नगरभित्र जुन सुकै निकाय वा विभागले सडक, ढल वा अन्य संरचना मर्मत वा निर्माण गर्दा नगरपालिकासंग समायोजन गर्नु पर्ने सामान्य विधि हो । यसो गरिएको छैन वा गरिदैन भन्ने यो पालिकाको कमजोरी हो । पालिकाले वैकल्पिक बाटोको विकल्पसहित संरचना निर्माणको अनुमति दिनु पर्दछ । गाउ“ , टोल वा वस्ती जोड्ने सम्पूर्ण सडक संरचना एकै पटक निर्माण गर्दा जनताले भोग्नु पर्ने सास्तीको हिसाव किताव पालिकाका पदाधिकारीहरुले राख्नै पर्ने हुन्छ । तर दुर्भाग्य वरिपरिका सबै बाटो अवरुद्ध रहेको कारण जनता महिनौंसम्म घरमा कैद रहि रहेको अवस्थामा पनि पालिका मस्त निदाई रहे । जनताको समस्यालाई टेरपुच्छर लगाएन । परिणाम हाम्रो सामु छ । विरालोलाई घरमा थुनेर मार्न खोज्दा हुने परिणाम विचरा कुशवाहाले भोग्नु पर्यो । अर्को कुशवाहालाई जोगाउन पनि यस्ता ढिलासुस्ती रोक्नै पर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News