अपडेट 
२०७८ कार्तिक १५, सोमबार ०८:४५

प्रदेश १ को प्रदेश सभा बैठक आज (सोमबार) बस्दै छ ।

यसअघि कात्तिक ७ गतेका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निवेदन दिएकाले आजका लागि सारिएको थियो । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने छन् । यस अघिकै बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ । प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ । संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन् । सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् । सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन् । यसअघि आइतबार बसेको गठबन्धनका दलको बैठकले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङबोका अनुसार आज नै एकीकृत समाजवादीका सचिव एवं प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि उक्त प्रदेशमा एमालेका आचार्य मुख्यमन्त्री बनेका थिए ।

Comment


Related News

Latest News

Trending News