जनकपुरधाम । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पडौलले नेपाली कांग्रेस आम नेपाली नागरिकको लागि भरोसाको केन्द्र बन्न नसकेको प्रति चिन्ता व्यक्त गरेका छन ।
प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले नेपाली राजनीतिमा अझै अनिश्चितताको बादल मडारिरहेकाले निरन्तर अस्थिरताको परि स्थिति रहेको बताए । उनले पटक–पटकको आन्दोलन र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता पनि अनिश्चितताको भुमरीमा परेकोमा खिन्नता व्यक्त गरे । मित्र राष्ट्र भारतमा ईस्वी सम्वत् १९४७ मा आएदेखि सोही व्यवस्था अनुरुप भारत चलिरहेको र त्यस्तै चीनमा पनि एकपटकको क्रान्ति पश्चात आएको व्यवस्था नै अहिले कायम रहेको बताउंदै नेता पौडेलले भने ,‘ तर नेपालको बिडम्बना के छ भने नयाँ व्यवस्थासँगै अस्थिता पनि आउने गरेको छ । ’ न्यायपालिकादेखि मुलुकका हरेक क्षेत्र अस्तव्यस्त हुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै रहेको उनले बताए ।
संविधान सभाबाटै लोकतन्त्र र संघीयता पनि आएको तर त्यसको सुनिश्चितता अझै पनि हुन नसकेको प्रति नेता पौडेलले दुःख व्यक्त गरे । नेकां महाधिवेशनको प्रसंगमा बोल्दै नेता पौडेलले भने ,‘ सफल नेतृत्व नपाएर कांग्रेस अस्त–व्यस्त बनेको छ , परिवर्तनको क्रमसंगै नेकांले सक्षम नेतृत्व पाउन सकेन । ’ पार्टीको महाधिवेशनमा सभापति उम्मेदावारको आकांक्षी समेत रहेका वरिष्ठ नेता पौडेलले समावेशी र समानुपातिकमा काँग्रेस अन्य पार्टी भन्दा अब्बल रहेको दावी गर्दै नेकांको जनआधार रहेको मधेशले नेतृत्व पाउनै पर्छ तर लोकतान्त्रिक पद्धति अनुसार त्यो निर्णय पार्टीका ९ लाख कार्यकर्ताहरुको हातमा रहेको प्रष्ट गरे ।


