जनकपुरधाम । अदालतको आदेशपछि भएको पुनः मतगणनामा विजयी भएका महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका–१०का अध्यक्ष रामेशकुमार रायले पदभार ग्रहण गरेका छन् ।
मनरा स्थित नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक समारोहमा मेयर संजयकुमार सिंहले वडाध्यक्ष रायलाई पदभार ग्रहण गराएका हुन । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रायले ढिलै भएपनि सत्यको विजय भएको छ, न्यायालयले जनताको मतको सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । २०७४ साल असोज २ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेका राय तथा नेपाली कांग्रेसका अरुणकुमार चौधरी बीच प्रतिस्पर्धा भएको थियो । सो बेला मतगणना हुँदा दुबैको मत बराबर रहेको भन्दै गोलाप्रथाबाट अरुण चौधरीलाई बिजयी घोषणा गरिएको थियो । रायको अनुपस्थितिमै गोलप्रथा गरी चौधरीलाई बिजयी घोषणा गरेपछि रायले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । पुनरावेदन अदालत जनकपुरधामले उनको मुद्दामा सुनुवाई गर्दै पुर्नमतगणना गर्न आदेश जारी गरेको थियो । सो आदेशको विरुद्ध अरुणकुमार चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पुनरावेदनको आदेशलाई जस्ताको तस्तै सदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको थियो ।
अदालतको आदेशानुसार गत कार्तिक ७ गते पुनरावेदन अदालत जनकुपरधामकै परिसरमा पुनः मतगणना हुँदा चौधरीको भन्दा रायको दुई मत बढि आए पछि चौधरीको पद खारेज भएको थियो । पुनः मतगणनामा रायले २ सय ६८ र चौधरीले २ सय ६६ मत ल्याएका थिए । यसै बीच अरुण कुमार चौधरीले आप्mनै घरमा राखेको वार्ड कार्यालयको भवन पनि परिवर्तन गरिएको छ । वडाध्यक्ष रायले कार्यालय व्यक्तिगत नभई सार्वजनिक हुने गरेकोले जनताको ईच्छा अनुसार काम हुने बताए ।


