२०७८ कार्तिक १६, मंगलवार ०७:१५

जनकपुरधाम । जनता समाजवादी पार्टीको प्रदेश २ का अध्यक्ष तोक्ने जिम्मेवारी केन्द्रीय अध्यक्षलाई दिइएको छ ।

१५ सदस्यीय प्रदेश कमिटीकालागि विभिन्न पदमा ७८ जना आकाक्षी देखिए पछि अध्यक्ष निर्धारण गर्ने जिम्मा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिइएको हो । केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत, वर्तमान प्रदेश कमिटीका अध्यक्ष बिजय यादव, वरिष्ठ नेता महेन्द्र यादव लगायतका नेताहरुको सोमवार जनकपुरधाममा भएको बैठकमा बढी आकाक्षी देखिएपछि सो निर्णय गरिएको हो । प्रदेश अध्यक्षकैलागि नेता शेषनारायण यादव लगायत १० जनाले आकांक्षा जाहेर गरेका थिए । जनता समाजवादी पार्टी बाट अल्गिएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्तालाई समायोजन गर्नकालागि पार्टीले नाम माग गरेका थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अवलम्वन गरी प्रदेश कमिटी, स्थानीय कमिटी र केन्द्रीय कमिटी पुनर्गठन गर्न लागेको हो । असोज २५ गते जनकपुरधाममा समायोजन सम्पन्न भएको थियो । समायोजनलाई पूर्णता दिनकालागि सोमवार जनकपुरधाममा बैठक बोलाइएको थियो । एक व्यक्ति एक पदको अवधारणा अनुसार बोलाइएको बैठकमा नेताहरुले आ–आफ्ना पद जाहेर गरेका थिए । प्रदेश कमिटीको निर्वाचन हुन्थ्यो भने शेषनारायण यादव जित्ने प्रवल सम्भावना रहेपनि आकांक्षी बढी भएपछि सो निर्णय गरिएको हो ।

अध्यक्षका आकांक्षाी यादव पार्टी गठन भएदेखिनै सक्रिय रुपमा पार्टीकालागि कार्य गर्दै आएका छन् । उनी क्षेत्रीय सदस्य देखि लिएर प्रदेश सचिव सम्मको जिम्मेवारी वहन गरेका कारण केन्द्रीय अध्यक्ष यादवको झुकाव पनि शेषनारायण तिर नै बढी रहेको पार्टी स्रोतले जनाएको छ । शेषनारायाण क्षेत्रीय सदस्य, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, जिल्ला स–सचिव, जिल्ला उपाध्यक्ष हुँदै दुई पटक धनुषा जिल्ला अध्यक्ष भई प्रदेश सचिव सम्मको जिम्मेवारी वहन गरि सकेका छन् । उनी स्थानीय तहको निर्वाचन देखि प्रदेश÷संघीय निर्वाचनमा समेत सक्रियतापूर्वक आफ्ना भूमिका निर्वाह गरेका छन् । कार्यअनुभव, क्षमता, राजनीतिक योग्यताको आधारमा केन्द्रीय अध्यक्ष यादवले प्रदेश कमिटीका अध्यक्षको निर्णय गर्ने जनाइएको छ । बैठकले अध्यक्ष तोक्ने जिम्मेवारी केन्द्रीय अध्यक्षलाई दिएपछि अध्यक्षले पनि नेता कार्यकर्ताहरुको भावना अनुरुपको निर्णय सुनाउने उनीहरुले विश्वास व्यक्त गरेका थिए ।

एक व्यक्ति एक पदको व्यवस्था पार्टीमा भएपछि प्रदेश कमिटीका अध्यक्ष बिजय यादवले समायोजन भएको दिन नै राजीनामा गरेका थिए । तर, अध्यक्ष चयन हुन नसकेपछि तत्कालकालागि बिजय यादवलाईनै अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

Comment


Related News

Latest News

Trending News