अपडेट 
२०७८ कार्तिक १६, मंगलवार ०७:२१

दर्शनको क्षेत्रमा उत्तरसत्य यस्तो अवधारणा हो, जस्ले तथ्यहरुलाई उपेक्षा गर्छ तथा निजी विश्वास र निकटताको आधारमा सत्यको निर्धारण गर्छ । आध्यात्मिक विश्वासको आधारमा ईश्वरको अस्तित्व यस्तै अवधारणा हो । तथ्यगत् रुपमा यसलाई प्रमाणित गर्न सकिँदैन । तर एउटा परम्परागतता र आफूले मानेका निकटका हरुको भनाईको आधारमा सबैले ईश्वरको अस्तित्व स्वीकार्छन् । यो उत्तरसत्य राजनीतिमा पनि छ। हामीले उपभोग गरिरहेको राजनीतिक व्यवस्था कुनैपनि अर्थमा लोकतान्त्रिक छैन । एउटा खास वर्ग र अभिजात्य समुदायबाहेक सबैलाई यस व्यवस्थाले शोषण नै गरिरहेको छ । तर विविध धर्म, जाति, समुदाय र भोट व्याङकमा विभाजित वर्तमान समाजमा राजनीतिक दलहरुले यसै व्यवस्थालाई लोकतान्त्रिक भनिरहेका छन् र यस्को विकल्पमा धर्म, जाति, सम्प्रदायबाट मुक्त जनवादी राज्य व्यवस्थाको निम्ती संघर्ष र समाजको आमूल परिवर्तनको विचारलाई अलोकतान्त्रिक विद्रोही विचार भन्छन् ।

यस्तो हुनूको कारण वास्तविक तथ्यहरुलाई उपेक्षा गर्नु तथा आफ्नो मनले पत्याएको धार्मिक, जातिय, साम्प्रदायिक अगुआ तथा राजनीतिक नेताहरुले यसै शोषणकारी व्यवस्थालाई नै लोकतान्त्रिक भनेकोमा विश्वास गर्नाले हो । यस्को तात्पर्य के हो भने निजी विश्वास र निकटतामा समर्थित र वास्तविक तथ्यबाट फरक भएपनि स्थापित कृत्रिम मान्यताहरु उत्तरसत्य हुन् । ‘उत्तरसत्य’ अर्थात् ‘सत्यपछिको’ अर्थात असत्य जो अन्धभक्तहरुमा सत्यको रुपमा स्थापित छ । वर्तमान राजनीतिमा यस प्रकारका उत्तरसत्यहरुको भरमार छ । सबभन्दा दिक्क लाग्दो तथ्य के छ भने आफूलाई बौद्धिक भन्नेहरु विविध लोभ र लिप्साका कारण यस प्रकारका तथ्यविहीन अवधारणा फैलाउनमा सक्रिय छन् । यद्यपि यस प्रकारका तथ्यविहीनताको प्रचारमा सामाजिक अन्तर्विरोधहरुले पनि भूमिका निर्वाह गरिरहेका हुन्छन् । वस्तुतः यिनै अन्तर्विरोध तथा जनमानसभित्रको अज्ञानता वा अल्पज्ञानताको फाइदा उठाएर धूत्र्त राजनीतिज्ञ र उसको डफ्फाले आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ । प्रदेश नम्बर २मा ‘मगही’ भाषाको वकालत यस्तै सामाजिक अन्तर्विरोधहरुलाई निहुँ बनाएर एउटा भ्रमित वातावरण सिर्जनागर्ने प्रयास हो । उल्लेखनीय के छ भने यस विषयमा कुनै भाषाशास्त्रीहरुले तर्क गरेका छैनन् । एउटा राजनीतिक साँस्कृतिक बौद्धिक समूह छ, जस्ले ऐतिहासिक र भौतिकवादी तथ्यहरुलाई पूर्णतः उपेक्षा गर्छ तथा धार्मिक साँस्कृतिक दमनसंग जोडेर भाषालाई जातिविशेषको भाषाको रुपमा प्रचारित गर्छ । जबकि ती समुदायहरुले बोल्ने भाषापनि त्यसै भाषाको एउटा बोली हो । यसरी राजनीतिकनेताहरुको स्वार्थको औजारको रुपमा रहेका जातिय अगुआहरु तथा बौद्धिक अगुआहरुको भ्रममा जनसमुदाय विशेषले आफ्नै मातृभाषालाई अरुको भाषाको नाम दिन पुग्छ । भाषाको सम्बन्ध एउटा व्यापक समुदाय विशेषसंगहुने गर्छ । यस्को आफ्नो स्थानीयता हुन्छ । यस्मा विविध समुदाय, सम्प्रदाय, वर्गहरु हुन्छन् । यिनीहरुको जीवनशैलीमा समानता र भिन्नतापनि हुनेगर्छ ।

यसै कारण भाषामा विविध बोलीहरु हुन्छन्,— जस्तै, राजाहरुको र भारदारहरुको बोली, बाहुनहरुको बोली, श्रमजीविवर्ग, जातिय समुदायहरुको बोली । हुन त भाषाको चरित्र निवर्गीय हुन्छ, र सामाजिक संस्तरण, सामाजिक र साँस्कृतिक अन्तर्घुलन र वर्गीय जीवनशैलीले भाषाभित्र विविध बोलीहरुको विकास हुनेगर्छ । मैथिलीमा ब्राह्मण र कायस्थ्य लगायत अभिजात्यहरुको बोली र विविध श्रमजीवि जाति र समुदायहरुको बोलीको भिन्नता यसैको उपज हो । अभिजात्यहरु परम्परागत शासक जातिका हुन् । शासकले आफ्नो शासकीय सँस्कृति र भाषालाई शिष्ट वा सर्वोत्तम वा शिष्ट, र शासितहरुको सँस्कृति र बोलीलाई निम्न वा अशिष्ट भन्दै आएको ईतिहाससिद्ध तथ्य हो । मैथिलीभाषी समाजपनि यस ऐतिहासिक अन्तर्विरोधबाट फरक छैन । यसै कारण विगतदेखी यस समुदायका अभिजात्यवर्गले आफूले बोल्ने बोलीलाई शुद्ध र अन्यको बोलीलाई ठेठी भन्दै आएको छ । मैथिलीको साहित्यिक र साँस्कृतिक सत्तामा अधिकांशतः अभिजात्यवर्गीय वर्चस्व छ । मैथिलीका विद्वानहरुमा केही श्रमिकजातिय समुदायबाट प्रमुख र उल्लेखनीय भएपनि भाषिकस्वरुपमा कथित अभिजात्यीय बोलीकै वर्चस्व छ । सामान्य अर्थमा ठेठ भनेको धुर देहात(रिमोट भिलेज) हो र त्यहाँ बोलिने मैथिलीलाई ठेठी भनिएको हो । नगरको सभ्यताले सँधै ग्रामीण चेतना तथा संस्कृतिलाई पछौटे, गँवार र अशुद्ध बुझ्ने गर्छ । ठेठीसंगपनि यस्तै व्यवहार भयो । तर समयसंगै श्रमजीवि जातिहरुमा समेत आधुनिक समानताको राजनीतिक चेतना तथा शिक्षाको विकास भएको छ, जस्ले उनिहरुमा राजनैतिक र साँस्कृतिक दमनबाट मुक्तिको निम्ती प्रतिरोधात्मक छटपटी बढाएको छ । मूत्र्तरुपमा भन्ने हो भने नेपालमा श्रमिकवर्गले राजनीतिकरुपमा पूँजीवाद र साँस्कृतिकरुपमा शासन र समाजमा विद्यमान ब्राम्हणवादबाट मुक्त हुनुपर्ने समझदारी बढदै गएको छ । धूर्त राजनीति गर्नेहरुले यसै विन्दुमा खेलीरहेका छन् । उनिहरु साँस्कृतिकरुपमा ब्राह्मणवादी धार्मिकता, परम्परा तथा सामाजिक विभेदको विरुद्ध श्रमजीवि जातिहरुलाई उभ्याउनुको साटो साँस्कृतिक विभेद र दमनलाई ब्राह्मण र कायस्थको बोलीमा जोडेर श्रमिक जातिय समुदायलाई आफ्नै मातृभाषाबाट विलग गर्न चाहन्छन् ।

यी राजनीतिक बौद्धिकहरुले मैथिली साहित्यमा स्थापित अभिजात्यीय संस्कृतनिष्ठ मैथिलीबोलीको वर्चस्व समाप्त गर्न तथा ठेठी मैथिलीलाई मानक भाषा(स्ट्यान्डर ल्याङ्गवेज)को रुपमा स्थापित गर्न संघर्ष गर्नुपर्ने थियो । तर अफसोस के छ भने यी ठेठी मैथिली भाषिक समुदायका केही अगुआहरु साँस्कृतिक सामाजिक विभेदबाट उत्पन्न अन्तर्विरोधको नाममा अन्य क्षेत्रको भाषालाई श्रमजीविहरुमाथी थोपर्न खोज्दै छन् । विडम्बना के छ भने ब्राह्मणवादी विभेदबाट पिडित समुदायको एउटा हिस्सा आफ्ना अगुआमाथी विश्वास गर्छन् र यसै कारण उनिहरु भाषा विज्ञान तथा ऐतिहासिक तथ्यहरुलाई उपेक्षा गर्दै मगहीको भ्रममा फँस्दै छन् । भाषाहरुको ऐतिहासिक विकास र भाषाविज्ञानको आधारमा गंगाभन्दा उत्तर मैदानीक्षेत्रमा चुरेसम्म मैथिली, भोजपुरी र बज्जिकाको क्षेत्र हो (बज्जिका, मैथिली र भोजपुरीबाट मिश्रित भाषा हो, जो भोजपुरी र मैथिलीभाषिक क्षेत्रको बीचमा एउटा पातलो बेल्टझैँ चुरेदेखी गंगासम्म फैलिएको छ । यस्को केन्द्र इतिहासमा वैशाली हो ) । मगही मूख्यतः गंगानदीको दक्षिणपट्टी र अति न्यून गंगाको उत्तरी किनारसंग टाँसिएको भाषा हो । आधुनिककालमा मगही भाषिकक्षेत्रबाट केही मानिसहरु नेपालमा आएको हुनसक्छन् र उनिहरुको मातृभाषा मगही हुनसक्छ । तर जसरी हाल मूख्यतः सर्लाहीदेखी झापासम्म बोलिने मैथिलीभाषिक समुदायकोबोलीविशेष‘ठेठी’लाई मगहीमा रुपान्तरित गरिने प्रयत्न गरिँदैछ, त्यसलाई उचित मान्न सकिँदैन । गंगाको उत्तरी मैदानीक्षेत्रमा विकसित भाषा र भाषिका(बोली)हरुको खोजी र अनुसन्धान गर्ने अठारौँ शताब्दीका प्रसिद्ध भाषाशास्त्री जर्ज अब्राहम ग्रियर्सन वा उन्नाइसौँ शताब्दीका भाषा अनुसन्धाताहरु डा. सुनितिकुमार चटर्जी वा प्रसिद्ध विद्वान राहुल सांकृत्यायन होउन वा आधुनिक भाषिक विद्वानहरु, सबैले मगहीभाषाको क्षेत्र गंगाको दक्षिणपट्टी भनेका छन् । तर तथ्यभन्दा पर निजी अनुकूलतामा विकसित विश्वासीहरुको निम्ती तथ्यको कुनै अर्थ हुँदैन । तर यो, ठेठीमैथिली बोल्ने भाषिक समुदायको निम्ती आफ्नै खुट्टामा बन्चरो हाने सरह हुन्छ । हुन त भारतीय क्षेत्रमा बोलिने अभिजात्यवर्गीय मैथिली बोलीको तुलनामा नेपालमा बोलिने मैथिली केही मिश्रित छ ।

तर यहाँको अभिजात्यीय समुदायले ब्राह्मणीय मैथिलीलाई स्थापित गराउन बेलाबेलामा पारीबाट ब्राह्मणीय मैथिलीका विद्वानहरुलाई बोलाएर आफूहरुले बोल्ने संस्कृतनिष्ठ मैथिलीलाई शुद्ध र मानक बनाउने प्रयास गरिरहेका हुन्छन् । तर जसरी ठेठी बोली बोल्ने समुदायहरुमाथी मगही थोपर्ने प्रयत्न हुँदैछ, त्यसले ठेठीलाई स्थापित गर्न गंगापारीका मगही विद्वानहरु बोलाइने सम्भावनापनि उत्तिकै छ । गम्भीर भएर सोँच्ने हो भने ठेठी मैथिलीभाषी समुदायको भाषिक अस्तित्वमाथीको खतरा सहजै बुझ्न सकिन्छ । यससंगै यस तथ्यलाईपनि उपेक्षा गर्न सकिँदैन कि, जो विगतमा नेपालमा हिन्दीको वर्चस्वको निम्ती प्रयासरत् थिए, अहिले उनिहरु नै ब्राह्मणवादको विरोधको नाममा मगहीलाई अगाडी सारेर भाषिकभ्रम सृजना गर्न खोज्दै छन् । वस्तुतः नेपालका श्रमजीविजातिहरुले ठेठीको वर्चस्वको निम्ती राजनैतिक र साँस्कृतिक संघर्षलाई अगाडी बढाउनु सही दिशा हुनेछ । दुईदिन पहिले एउटा भाषिक अन्तक्रियामा भाग लिन गएको थिएँ । त्यहाँ एकजना प्राध्यापकले आफू मगहीमा बोल्ने भने, तर उनले मैथिलीमा बोले । दिक्दार त के थियो भने उनले मैथिलीलाई नै मगही भनेर दावी गरिरहेका थिए । यसबाट के प्रष्ट भैरहेको थियो भने कि त उनि भाषिक तथ्यहरुबाट अज्ञान छन् अथवा उनिपनि तिनै मैथिली भाषिक समुदायमा भ्रम छर्ने अभियानका हिस्सा हुन् । सबै मातृभाषाहरु समानरुपमा सम्मान योग्य छन् । जस्को मातृभाषा मगही छ उनिहरुको मातृभाषाको विकास र अधिकारको निम्ती संघर्ष उचित र न्यायिक हो । तर अन्य भाषालाई आफ्नो मातृभाषा भन्न खोज्नु आत्मघाती हो । यहाँ मगहीको लोककथाबाट केही पंक्तिहरु उद्धृत गरिएको छ, जो निश्चय नै ठेठीभन्दा भिन्न छ । पढनुस र आफै विचार गर्नुस : नेपालमा जस्ले आफ्नो मातृभाषा मगही भनिरहेका छन्, के उनिहरु यसै गरी बोल्छन त ? : ‘एगो हलन महतो जी ।उनका दूगो औरत हल । एगो हल ब्याही आउ एगो हल अर्घी । दूनो से एकेक गो लइका हले । महतो जी एगो गाय पोसले हलन । उन्कर दूनो औरत पिंगल पढके पीर होयल हल ।….उकरा सोच के महतो जी एगो आउ गाय खरिद लेलन ।…एक दिन देखलन अर्घी के बछिया खोल के सब सब दुधबा पीले हे ।.

..महतोजी सोचलन कि अर्घी के लइकबा हमरे हे ।’ (श्रोत — मगध की लोक कथाएँ ः संचयन, संकलक —नारायण प्रसाद) । यो कथा लामो छ र यहाँ भाषाको स्वरुपसंग मात्र परिचय गराउन खोजिएको छ । निश्चय नै यो ठेठीभन्दा भिन्न भाषा हो । यतिबेला देशमा जनगणनाको पूर्वसंध्या छ । यसको सुरसार शुरु भैसकेको छ । यसका परिणामहरुले देशको राजनैतिक र सामाजिक परिणामहरुलाई प्रभावित गर्ने छ । समग्र राजनीतिमा मातृभाषाहरुको सहभागिता तथा समावेशितालाईपनि यसले प्रभावित गर्नेछ । त्यसैले भाषिक सचेतता अति जरुरी छ । यस्तोमा प्रदेशनम्बर २मा सामाजिक र साँस्कृतिक हार्दिकता,मेल र सामाजिक साहचर्य र अपनत्वको निम्ती भाषिक अन्तर्विरोधहरुलाई सही ढंगले हल गरिनु आवश्यक छ । वस्तुतः उत्पीडित वर्ग र समुदायले भाषाको परिचय भन्दापनि वर्चस्वको विरुद्ध संघर्षरत् हुनू सही दिशा हुनेछ । उर्दू शायरीको एउटा पंक्ति छ ः ‘लम्होँ ने खता की और सदियोँ ने सजा पाई ।’ त्यसैले सबैले गम्भीर भएर सोँचौँ ।

Comment


Related News

Latest News

Trending News