अपडेट 
२०७८ कार्तिक १६, मंगलवार ०७:२५

जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका छन् ।

सर्ने/नसर्ने रोगको सम्पूर्ण प्रयोगशाला परीक्षणहरु अव जनकपुरधाममै हुने भएको छ । सो अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासको लागि गम्भीर रहेको बताए । उनले प्रयोगशालाको विकास विस्तारको लागि सरकार प्रतिबद्ध रहेको जनाएका थिए । साहले भने– ‘स्वास्थ्य सेवा विकास विस्तारको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ स्वास्थय निर्देशनालय जनकपुरधामका निर्देशक डा.विजय झाले प्रयोगशालामा सम्पूर्ण रोगहरुको जाँच सुरु भएपछि प्रदेशभरका कुनै पनि रोगीहरु जाँचको लागि बाहिर जान पर्ने समस्याबाट छुट्कारा पाउने प्रति हर्ष व्यक्त गरे । उनले सरुवा रोगहरुको प्रकोपसंगै नसर्ने रोगहरुको प्रकोप समेत बढेको अवस्थामा त्यस्ता रोगपछिको परीक्षण तथा रोगलाग्नु अघिको पूर्व परीक्षणको लागि प्रयोगशाला कोशेढुङ्गा साबित हुने बताए । मधुमेह, ह्दयरोग लगायतका अरगेन बिग्रेर लाग्ने रोगहरुको जाँचको लागि प्रदेशमा व्यवस्था नहुँदा यहाँका रोगीहरु जांच गराउन धरान ,काठमाण्डु तथा पोखरा सम्म पुग्नु पर्ने बाध्यता अन्त्य भएको निर्देशक झाले बताए ।

प्रदेश प्रयोगशालाका निर्देशक श्रवण कुमार मिश्रले प्रयोगशालामा क्षयरोग, कोभिड, हैजा, जस्ता सरुवा रोग तथा मधुमेह, क्यान्सर जस्ता नसर्ने रोग लगायतका सयौं रोगको सम्पूर्ण जाँच गर्न सक्ने जानकारी दिएका थिए । प्रदेशभरका १ सय ३६ वटा पालिकाहरुमा प्रयोगशालाको शाखाहरु स्थापनाको लागि समेत गृहकार्य भईरहेको जानकारी दिंदै केही दिनमै वार्ड–वार्डमा सेवा पु¥याउने प्रयोगशालाले लक्ष्य लिएको उनले बताए । यस प्रयोगशालाको कार्य शुभारम्भ गर्नु अघि प्रदेशभरका पाँच सय नीजि प्रयोगशालाहरु मध्ये २ सय ५० भन्दामाथि प्रयोगशालाको अनुगमन अवलोकन गर्दा कुनै पनि प्रयोगशाला सरकारले तोकेको मापदण्ड अनुसार नरहेको जानकारी समेत मिश्रले दिए । उनीहरुलाई तत्काल सुधारको लागि निर्देशन दिईएको र त्यसमा कुनै पनि लापरवाही गरिए कडा कारवाही गर्ने समेत उनले बताए ।

प्रदेश जनस्वास्थय प्रयोगशाला जनकपुरधामद्वारा आयोजना गरिएको सो कार्यक्रममा योजना आयोग जनकपुरधामका उपाध्यक्ष डा.भोगेन्द्र झा, राजर्षि जनक विश्वविद्यालयका उप– कुलपति डा.भरत झा, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.रामकेवल साह लगायतका व्यक्तिहरुले प्रयोगशाला शुभारम्भ कार्यक्रममा धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News