अपडेट 
२०७८ कार्तिक १६, मंगलवार ०७:२७

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडामा सोमबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल, श्रीजानकी आँखा अस्पतालको सहयोग लक्ष्मीनियाँ गाउँपालिका र लक्ष्मीनियाँ युवा क्लवको समन्वयमा जनकपुर टुडे संचार समूहले आयोजना गरेको स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित सयौं रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवले उद्घाटन गरेको सो शिविरमा परीक्षण गराउन आएका रोगीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ । स्थानीय युवा एवम् पत्रकार लक्ष्मण यादवको विशेष पहलमा आयोजित शिविरमा गापा अध्यक्ष यादवले स्वास्थ्यप्रति गम्भीर हुन सबैमा आग्रह गरे । अस्वस्थ मानिसले कुनै क्षेत्रमा योगदान गर्न सक्दैन, उनले भने–‘स्वस्थ्य मानिसले देश विकासमा महत्वपूर्ण योगदान गर्छ । त्यसैले स्वास्थ्यको मामिलामा सम्झौता नगर्नुहोस ।’ स्वस्थ्य पालिका बनाउनमा यस्ता शिविरहरु महत्वपूर्ण रहेको उनले उल्लेख गरे । गाउँमै परीक्षण गरी औषधि समेत उपलब्ध गराएकोले स्वास्थ्य संस्थासम्म पहुँच नरहेको नागरिकहरुले अधिकतम लाभ लिनुपर्नेमा अध्यक्ष यादवले जोड दिए । यस किसिमको निःशुल्क स्वास्थ्य शिविर अन्य वडाहरुमा पनि संचालन हुनुपर्ने धारणा उनले राखे । सो अवसरमा श्री जानकी आँखा अस्पतालका संचालन एवम् व्यवस्थापन समितिका कोषाध्यक्ष संजय साह, वडा सदस्य शिवशंकर झा, जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्ष सत्यनारायण यादव, सुट्टा मण्डल, शम्भु राउत, नवल राउत, झखु यादव, मेहदु महरा, कुञ्जा मण्डल, विजय सदा, लालबाबु साह लगायतको उपस्थिति रहेको थियो । शिविरमा २ सय ८९ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

प्रादेशिक अस्पताल र श्रीजानकी आँखा अस्पतालका चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा जाँच गरिएको मध्ये ४८ जनामा मोतियाविन्दु फेला परेको छ । मोतियाविन्दु फेला परेको ४८ जनालाई निःशुल्क शल्यक्रिया गरिने श्रीजानकी आँखा अस्पतालका कोषाध्यक्ष साहले जानकारी दिए । करिब दुई सय जनाको चेकजाँच गर्दा ४८ जनामा मोतियाविन्दु फेला परेको उनले बताए । नेत्र अधिकृत रामपरीक्षण साहको नेतृत्वमा आइ हेल्थ असिस्टेन्ट नविन झा, प्राविधिक अजय महतो लगायतको टोलीले आँखा सम्बन्धी रोगीको चेकजाँच गरेका थिए । यता, प्रादेशिक अस्पतालका चिकित्सक टोलीले विभिन्न रोगबाट ग्रसित रोगीहरुको स्वास्थ्य जाँच गरेका थिए । लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य संयोजक मनोहर यादवको नेतृत्वमा मुकेश मण्डल, जयनारायण यादव, पवन यादव लगायतका स्वास्थ्यकर्मीहरुले शिविर व्यवस्थापन गरे । शिविरमा प्रादेशिक अस्पतालका डा. संजीव साह, डा. जियाउल हक, डा. राजिव अधिकारी लगायतको टोलीले रोगीहरुको चेकजाँच गरेका थिए ।

Comment


Related News

Latest News

Trending News