जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न १५ विधामा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्ने भएको छ ।
मंगलबार प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले सो सम्वन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । प्रदेशका तत्कालीन प्रमुख डा. राजेश झा ‘अहिराज’ ले फिर्ता पठाएको विधेयक अहिलेका प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणीकरण गरेका छन् । प्रमाणीकरण गरिएको विधेयकमा प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेघावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण, प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ । यस्तै, प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक, सामाजिक अभियन्ता पदक तोकिएको छ । विधेयकमा प्रदेश सरकारले कसैलाई दिएको पदक रद्द समेत गर्न सक्ने प्रावधान राखेको छ । विधेयक अनुसार आफूले प्राप्त गरेको पदक कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा, पदकको मर्यादा विपरीत हुने गरी पदकको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा पदक रद्द गर्न सकिनेछ । यस्तै, प्रदेशको अपमान वा मानमर्दन गरेका, प्रचलित कानुन विपरीत राष्ट्रको मर्यादामा आघात हुने कुनै कार्य गरेको प्रमाणित भएमा पदक रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।
यस्तै, पदक स्वेच्छाले पनि रद्द गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । कसैले फिर्ता गर्न चाहेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाउन सक्नेछन् । पदकसहित नगद पुरस्कार समेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशी तथा नगद पुरस्कार सम्बन्धी अन्य व्यवस्था पछि तोकिने विधेयकमा उल्लेख छ ।


