अपडेट 
२०७८ कार्तिक १७, बुधबार ०७:२१

दीपावली र छठ पर्वलाई सरसफाइको प्रतीकको रूपमा लिए पनि यिनीहरू विभिन्न आयाम समेटेका हुन्छन् । खान–पान, लता–कपडा, पूजा–पाठ, रहन–सहन आदि कुराहरूलाई सोझै रूपमा प्रभावित गरेका हुन्छन् । दीपावली खास गरी दीप प्रज्वलन गरी मनाइन्छ । मानिस जीवनभर सधैं उज्यालो रही रहोस् भन्ने चाहना राखी दीपावली हर्सोल्लास साथ मनाउने गर्दछन् । यी पर्वहरू मध्ये यसरी दीपावलीको शुरूआत गरेको देखिन्छ । वास्तवमा दीप एउटा शुभ कामको उद्घाटनको प्रतीकको रूपमा लिने गरिन्छ । अहिले पनि ठूल–ठूला उद्घाटन वा शुभकार्यमा दीपको महत्व सबैभन्दा बढी हुन आउँछ ।

दीपमा पनि माटाबाट निर्मित दीपको बढी महत्व हुन्छ । जब मानिस जंगली अवस्थाबाट गृहस्था अवस्थामा प्रवेश गर्दा मानिससँग खान–पान, पूजा– पाठ तथा अन्य काम–काज तथा ओसार–पसार गर्न कुनै किसिमको भाँडाकुँडा थिएन । सबैभन्दा पहिले त्यही समाजबाट एउटा समूह निस्केर यसबारे सोच्न थाले कि समाजलाई यस्ता कठिनाइबाट कसरी छुटकारा दिलाउन सकिन्छ ? विस्तारै उनीहरूको प्रयासबाट माटाका विभिन्न भाँडा–बर्तनको विकास गरी समाजको जीवनमा देखिएका यस्ता समस्यालाई समाधान गर्ने कोशिस सफल भयो र जंगली अवस्थाबाट गृहस्था अवस्थासम्म बाल्दै आएको मशाल युगको अन्त भयो । दीपले एउटा नयाँ युगको शुरूआत गर्यो । पछि विस्तारै दीप मात्र होइन माटाका अन्य भाँडा– वर्तन बनाइ समाजको माँगलाई पूर्ति गर्ने गरियो । जुन व्यक्तिहरू यस्ता माटाका भाँडा–वर्तन बनाइ पछि पेशाको रूपमा अपनाइ जीवन यापन गर्न थालेका समूहलाई ‘कुम्भकार’ को नामले सम्वोधन गर्न थाले । कुम्भकार दुई शब्दबाट बनेको हो ः कुम्भ र कार । कुम्भको अर्थ गाग्रो वा भाँडो र कारको अर्थ आकार दिनु अर्थात कुम्भकार भनेको आजको समाजमा कुम्हार जातिलाई जनाउँदछ जो आजपनि घर–घरको शुभ कार्यमा चाहिने भाँडा–वर्तन तथा दीप जस्ता कुराहरूको पूर्ति गर्ने गर्दछन् । दीप बालेर अँध्यारो माथि त विजय प्राप्त गर्यौ तर संस्कारीको बदला असंस्कारीको रूप देखाउन थाल्यौं । अहिले त अझ कुरूप समाजको परिचय दिन पनि पछि पर्दैनौं । दीपावली हुनुभन्दा केही दिन अगाडि देखिनै हामी सरसफाइमा भिड्छौं र विश्वास राख्छौं कि जसको घर बढी सफा छ त्यहाँ लक्ष्मीको बास हुन्छ । बुझाइ ठिकै भएपनि त्यसलाई निरन्तरता दिन कतै न कतै पछाडि पर्छौं । लक्ष्मीको अर्को नाम सरसफाइ पनि हो । जहाँ बढी सरसफाइ हुन्छ त्यहाँ धनको अभाव हुँदैन । त्यहाँ कुनै रोग आउँदैन । त्यहाँ हामी मात्र होइनौं त्यहाँ बस्ने सम्पूर्ण समाजको साथै आउने पाहुना समेत प्रफुल्लित भएर आउँछन् । तसर्थ सरसफाइमा ध्यान जानु स्वभाविकै हो । सरसफाइ विनाका जीवनलाई नारकीय जीवनको रूपमा लिने गरिन्छ । नारकीय जीवन भनेको दुःख–दुखै भएको जीवन हो ।

दीपावलीको वेला घर–आँगनलाई हामी दुल्हीन जस्तो सिंगार्छौं, घर–आँगनलाई विभिन्न रंगले रंगी–चंगी बनाउँछौं । बनाउनु नराम्रो काम होइन तर पर्व सकिएपछि हामी फेरि अघि नै फोहरी अवस्थामा फर्कन्छौं । पर्व वेला गरेका बाचा विर्सन थाल्छौं । लक्ष्मी भनेको एउटा मान्यता हो । त्यो मान्यताले सरसफाइलाई सम्वोधन गर्दछ । सधैं सफा राख्ने मान्यतालाई समेटेको हुन्छ । त्यसैले लक्ष्मीको पूजा भनेको नै सरसफाइ प्रतिको मान्यतालाई जीवनमा उतार्न प्रेरणा दिनु हो । एउटा सानो उदाहरण दीपावलीमा हजारौं हजार केराका वोट काटेर घरको ढोकालाई हरिया पारी त्यसमा दीप जलाई झिली–मिली पार्छौं । केरा काट्न त काट्छौं तर पुनः उसलाई लगाउने ठाउँ दिदैंनौं वरू जथाभावी सडक, पोखरी, नदी तथा अन्य सार्वजनिक स्थलहरूमा फ्याक्छौं । यति मात्र होइन शहरको बीचमा रहेका सडक समेतमा फाल्नबाट पछि पर्दैनौं । जसले गर्दा पूरै शहर विभत्स हुन जान्छ । यस्तै छठ पर्वको समापन पछि पनि पोखरी लगायत अन्य जलाशयहरूमा केराका वोट लगायतका पूजाका सामग्रहिरू समेत फालेका हेर्न सक्छौं । के यो राम्रो वानी हो त ? कहिले हामी सोचेका छौं कि यस्ता फोहर बस्तुबाट वातावरणमा कस्तो नकारात्मक प्रभाव पर्न सक्छ ? यस्ता फोहरी कामबाट कहिले पनि घरमा लक्ष्मीको वास हुन सक्दैन । लक्ष्मी त जहिले पनि स्वच्छ र सफा कहाँ बस्न पसन्द गर्दछन् । लक्ष्मी कहिले पनि भ्रष्टाचारी, झुठ वोल्ने व्यक्ति, चुग्ली–झगडा लगाउने व्यक्ति, असामाजिक तत्व कहाँ बस्दैन । वेइमानी त अझै लक्ष्मीको मन नपर्ने कुरा हो । त्यसैले वेइमान होइन जीवनमा इमान्दार बनी बसौं । अहिले हामी गाउँ मात्र होइन जिल्लालाई नै खुल्ला दिसा–पिसाब मुक्त क्षेत्र घोषणा गरेका छौं । साँचैमा हाम्रा गाउँ घर खुल्ला दिसा–पिसाबमुक्त क्षेत्र भएका छन् त ! गाउँ घर मात्र होइन, शहरको बीचै भागमा रोडको छेउछाउमा ठाडै पिसाब गरेको देख्दा अचम्म लाग्छ । साँझ परेपछि शहर होस या गाउँ सडकको पेटीमा वा गल्ली सडकमा खुल्ला दिसा– पिसाब शौचालय कायमै छन् ।

गाउँको चाडै तिरबाट आएको दुर्गन्ध कहाँ हटेको छ र ! यस गाउँ–घरका भरभलाद्मी, युवा, किसान, बुद्धिजीवी, विद्यार्थी, महिला, ज्येष्ठ नागरिक आदि सबै तप्का मिलेर रोक्नु पर्ने कि नपर्ने । यस्ता दुर्गन्धित गाउँ वा शहरमा लक्ष्मी तथा छठीमाई कसरी बस्छन् । मैले आफ्नै आँखाले देखेको कुरो यहाँ राख्न चाहन्छु । छठको बेला पोखरीको घाट तथा भिण्डालाई राम्ररी सफा गर्दछौं । त्यहाँ रहेका दिसा–पिसाबको थुग्रा तथा डलालाई फाली त्यहाँ केराका वोटहरू गारेर चौकी वा बेंच जोडि छठमा चढाउने समानहरू केरा, ठकुवा, भुसबा तथा अन्य पकवान र फलफूलहरू सजाएर राख्ने गरिन्छ । त्यहाँ एकाएक पुग्दा त वडो आकर्षक रूपले सजाइएको घाट र डिललाई हेर्दा मन प्रसन्न हुन आउँछ । के घाट र डिल यस्तै सफा र आकर्षक हिजो पनि थियो र भोली पनि रहनेछ । यदि रहने छैन भने छठीमाइ कसरी हाम्रो घरको वरिपरि वास बस्न आउँछन् । छठीमाईको लागि त सधैंका लागि सफा स्वच्छ र आकर्षक घाट र डिल चाहिन्छ । तसर्थ हामी ती सार्वजनिक ठाउँलाई सधैंका लागि सफा तथा आकर्षक राख्ने काम गरांै । एक दिने सफाइले लक्ष्मी तथा छठीमाईलाई घरबास गराउन खोज्दा देवी–देउतासँग ठग्ने काम बाहेक अरू केही हुन सकिँदैन । तसर्थ गाउँ–घरको खुल्ला चउर वा बाटो– घाटोमा कहिले पनि दिसा–पिसाब नगरौं । स्वच्छ वातावरणले मात्र हाम्रा जीवनलाई दिर्घायु बनाउन सक्छ । प्रत्येक जीव जन्तुलाई बाँच्न सहयोग मिल्छ । वातावरण सन्तुलन हुन आउँछ । रूख–विरूवा काट्नु भन्दा लगाउने काम गर्दा हाम्रो वातावरण सफा–सुग्घर तथा हरियो गाउँ बन्न बेर लाग्दैन । यस्ता कामहरू गर्दा मात्र लक्ष्मी तथा छठीमाइ घर–घरमा बास बसेको पाउन सक्छौं । हाम्रो खाने सामग्री सफा, स्वच्छ तथा शुद्ध हुनुपर्छ । खाना यदि हामीले स्वच्छ, सफा तथा ताजा खादैनौं भने विभिन्न किसिमका रोगका जीवाणुहरू खाना मार्फत हाम्रो जीउ भित्र प्रवेश गरी बृद्धि हुन थाल्छ र हामीलाई केही दिन भित्रै रोगी वनाइ दिन्छ । सफा खाने वस्तु लक्ष्मी तथा छठीमाईलाई पनि रूचाउँछ । लक्ष्मी पूजाको दिन बजारबाट मिठाइ तथा फलफूलहरू किनेर ल्याउँदा ती वस्तुहरू कस्ता छन् राम्ररी विचार गरी किन्नु पर्छ । अहिले सरकारबाट मिठाइ पसलहरूलाई जाँच गर्दा नामी मिठाई पसलहरू गुणस्तरहीन मिठाई राख्ने पंक्तिमा उभेको देखियो । यसबारे उपभोक्ताहरू उपभोक्ता संघ मार्फत ठाउँ–ठाउँमा बजारलाई यस्ता प्रदूषित मिठाई वा अन्य खाने कुरालाई नियन्त्रण गर्न सरकारलाई मद्दत गर्न सक्छन् ।

सरकारी निकायबाट मात्र यस्ता अवैध काम नियन्त्रण गर्न निकै कठीन हुँदो रहेछ । सरकार र जनताको वीचमा समन्वयता चाहिन्छ । एक–अर्काको सहयोग विना यस्ता मिसावटका कामहरूलाई नियन्त्रण गर्न सकिँदैन । दीपावली तथा छठ पर्वमा घर–आँगनलाई मात्र होइन, भाँडा–वर्तन, फर्निचर, झ्याल–ढोका, चुल्हा– चौका आदि सबै कुरालाई राम्ररी सफाइ गरिन्छ । मनमा एउटा के लोभ हुन्छ भने यस्तो गर्दा लक्ष्मी तथा छठीमाइ खुश हुनु हुनेछ र धनं–धान्यले परिपूर्ण गर्नेछ । हेर्नुस् लक्ष्मी तथा छठीमाई जहिले पनि इमान्दारीपूर्वक काम गर्ने मानिसलाई हेर्छन् । सधैं सरसफाइको कुराहरूमा ध्यान दिन्छन् । एउटा भनाइ पनि छः ‘कर्म नै पूजा हो’ । मन्दिर–मन्दिर घुमेर लक्ष्मी तथा छठीमाई भेटिंदैनन् । मन्दिरप्रति आस्था राख्नु राम्रो कुरा हो तर त्यसैप्रति काम–धाम छोडेर रम्नु हुँदैन । तसर्थ हामी कर्मको पुजारी बनौं । लक्ष्मी तथा छठीमाई त कामको भूखा हो । अहिले जुन जुन देश, समुदाय, समाजले जे जति परिश्रम गरि रहेका छन् त्यति नै विकासमा अगाडि छन् । यूरोप तथा अमेरिकाका नागरिकहरू एकछिन वाहियातको कुरामा समय फाल्दैनन् । कसैसँग कुरा गर्न समय हुँदैन । फलस्वरूप उनीहरू सुखी र विकसित छन् । छिमेकी देश चाइनाको उदाहरण लिऊ, पाँच दशक भित्रै चाइना विश्वको एउटा सुपर पावरमा आइसकेको छ । लक्ष्मी तथा छठीमाई उनिहरूलाई सहयोग गर्दछन् । एउटा अर्को भनाई छ कि ‘‘ईश्वर उनैलाई सहयोग गर्दछन् जो आफ्नो मद्दत आफै गर्दछ् ।” यस्ता उक्तिहरूलाई मनन गरी लक्ष्मी तथा छठीमाइ पूजाबाट यस्ता उपदेश सबैले लिउन भने यही नै लक्ष्मी तथा छठिमाईको उत्तम पूजा ठहर्नेछ । नेपाल एउटा देउतै देउताको देश हो तर पनि हामी गरिब छौं । देउता कहिले पनि काम नगरी हामी माथि निर्भर हुन भन्दैनन् । लक्ष्मी तथा छठीमाइ त काम हेरेर खुशी हुने देवीहरू हुन् । कामै नगर्नेलाई जहिले पनि यी देवीहरू हेला गर्ने गर्दछन् । निठल्ला बसेर केही पाउन सकिंदैन । तसर्थ जो सुकैले आफ्नो जीउलाई स्फूर्त बनाई सके जति काम गर्नुपर्छ । काम गर्दा मात्र हामी लक्ष्मी तथा छठीमाईलाई खुशी पार्न सक्छौं । हामी अब प्रदुषणबाट छट्पटाउन थालेका छौं ।

प्रदुषण लक्ष्मी तथा छठीमाईको देन हो त ! यसका कारक तत्व मानिस नै हुन् । दिनदिनै समाचारमा सुनिन्छ कि ठूला–ठूला शहरमा साँस फेर्न कठिनाई मात्र भएको छैन । आँखा र घाँटी समेत पोल्न थालेको छ । आरामसँग बाँच्न हराम बनाएको छ । तर पनि मानिसहरू सचेतपूर्वक आ–आफ्ना काम गर्दैनन् । जनसंख्या नियन्त्रण गर्दैनन् । सुखी हुनलाई सानो परिवार बनाउन विर्सेका हुन्छन् । हामी प्रकृति प्रेमी बन्नुपर्छ । जहिले पनि प्रकृतिलाई सन्तुलन बनाइ राख्नुपर्छ । सन्तुलनताको लागि पृथ्वीलाई हराभरा, सफा–सुग्घर राख्नुको विकल्प छैन । मानिस संसारका सबै जीव जन्तु भन्दा बुद्धिजीवी तथा सामाजिक प्राणी हुन् । प्रकृतिलाई सन्तुलन राख्ने काम मूल रूपले मानिसको कर्तव्यमा निर्भर हुने कुरा हुन् । लक्ष्मी तथा छठीमाई त त्यस ठाउँमा जान्छन् जहाँ वातावरण हराभरा तथा सफा हुन्छन् । अन्तमा हामी पर्व–तिहारमा मात्र होइन सधैं आ–आफ्ना घर–आँगन, वारी–झाडि, बाटो–घाटो, सार्वजनिक स्थल, हाट–बजार, खेल मैदान, विद्यालय, कलेज, मन्दिर, पाटी पौवा आदि सफा राखौं । लक्ष्मी तथा छठीमाईको यही सन्देश हो । लेखक : त्रि.वि.का. निवृत्त सह–प्राध्यापक हुन् ।

Comment


Related News

Latest News

Trending News