जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती सेवामा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेर सबै वर्ग समुदायको पहिचान स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार रौतहटको बौद्धिमाई नगरपालिकाको ईनबारीमा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै संघीयता र समावेशिताको भावना अनुरुप हरेक वर्ग र समुदायको पहिचान स्थापित गर्न प्रदेश सरकार सक्रियतापूर्वक काम गर्दै आएको दावी गरे । प्रदेश सरकार जनताको अधिकार र पहिचानकै आन्दोलनको जगमा स्थापित रहेको बताउँदै उनले भने ,‘ सरकारले उपेक्षित रहँदै आएको समुदायहरुको चाडपर्वमा प्रदेश सरकारले विदाको व्यवस्था गर्नु पनि पहिचान र समावेशिताकै स्थापनाको लागि एक कदम हो ।’ कार्यक्रममा नेपाली जनता दलका प्रदेश सभाका प्रत्याशी मुस्ताकको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एमाले सहितका विभिन्न पार्टी परित्याग गरी दुई दर्जन भन्दा बढी कार्यकर्ताहरुले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मुख्यमन्त्री राउतले पार्टीमा स्वागत गरेका थिए ।
नगर कमिटी अध्यक्ष ह्दयनारायण यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य रामकिशोर यादव ,अबुकलाम आजाद ,जसपा नेपालका केन्द्रीय सदस्य बालकिशोर यादव, रेबन्त झा ,प्रदेश समिति सदस्य रामअशिष यादव , बीरेन्द्र यादव ,रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल ,बौद्धीमाई नपाका प्रमुख राजीव रंजन यादव(राजु) ,महिला नेतृ शोभा साह सहितका वक्ताहरुले शुभकामना मनतव्य राखेका थिए ।


