जनकपुरधाम । धनुषाको विकट पालिका शहीदनगरमा मंगलबार एक कार्यक्रमका बीच हेलिप्याडको शिलान्यास गरिएकोछ ।
युनिसेफको सहयोग र शहीदनगर नगरपालिकाको समन्वयमा लाइफ नेपालद्वारा संचालित बाढी पूर्व तयारी तथा प्रतकिार्य योजना अन्तर्गत हेलिप्याडको शिलान्यास गरिएको हो । एक कार्यक्रमका बीच शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले हेलिप्याडको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर बरबरियाले हेलिप्याड भएपछि उद्धार कार्य समयमै गर्न सकिने विश्वास व्यक्त गरे । कमला नदी नजिकका पालिकाहरुमा वर्षा याममा आवतजावत अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा समस्या हुने गरेको उनले बताए । भविष्यमा यस्ता समस्या आउन नदिनको लागि हेलिप्याड बनाउन लागेको उनले थपे । समस्यामा परेकोलाई उद्धार गर्ने र आउने टोलीहरुलाई पनि यसले सहज हुने विश्वास उनले व्यक्त गरे । वर्षा याममा ठाउँ ठाउँमा बाटो अवरुद्ध हुँदा कमला नदी छेउका पालिकाहरुमा उद्धार र राहत कार्य प्रभावित हुने गरेको छ ।
शहीदनगर नगरपालिकासहित कमला नपा, जनकनन्दनी गापामा कमला नदीको बाढी पस्दा जनधनको ठूलो क्षति हुने गरेको छ । जनधनको ठूलो क्षति हुन नदिन तत्काल उद्धार र राहतको शहीदनगर नगरपालिका–२ कमलपुरमा रहेको आश्रय स्थलमा हेलिप्याडसहित बाथरुम, चापाकल र भान्छा निर्माण गरिएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जनाए । आपतकालीन अवस्थामा उद्धार र राहत कार्यलाई सहजीकरण गर्ने उद्देश्यले हेलिप्याड बनाउन लागिएको अध्यक्ष ठाकुरले थपे । शिलान्यास कार्यक्रममा स्थानीयहरु उल्लेख्य सहभागिता रहेको थियो ।


