जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका विपन्न परिवारलाई दीपावलीको पूर्व सन्ध्यामा आर्थिक सहयोग गरिएको छ ।
पालिकाका मुसहर, चमार र डोम समुदायलाई २० हजार आर्थिक सहयोग गरेको हो । कोरोनाबाट प्रभावित नगरपालिकाका १२ सय ३८ घरपरिवारलाई २० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको छ । उनीहरुलाई जीविकोपार्जनमा तत्काल टेवा पुर्याउने उद्देश्यले हेल्भेटास नेपाल र स्विस सोलिडारिटीको सहयोग तथा क्षीरेश्वरनाथ नगरपालिकाको साझेदारीमा आर्थिक सहयोग गरिएको छ । मुसहर, चमार र डोम समुदाय कोरोनाबाट स्वास्थ्य तथा आर्थिक रुपमा कठिनाई भोगिरहेको हुँदा उनीहरुलाई पुनःस्थापित गर्न आर्थिक सहयोग गरिएको कार्यक्रमका संयोजक अरविन्द यादवले बताए । विपन्न घरपरिवारले पाएको सो आर्थिक सहयोगले चाडपर्वको बेला खानपान, लत्ताकपडा स्वास्थ्य उपचार लगायतका कार्यमा टेवा पुग्ने कार्यक्रम संयोजक यादवको भनाई छ ।
कोरोनाबाट प्रत्यक्ष मर्कामा परेका ती विपन्नवर्गका घरपरिवारलाई नगदै वितरण गरेको क्षीरेश्वरनाथनगरपालिकाकानगर प्रमुख योगेन्द्र पजियारले जनाए । उनले दैनिक ज्याला मजदूरी गरी घर खर्च चलाउने ती विपन्न वर्गलाई आधारभूत सेवा सुविधाको पहुँच कमी आउँन नदिन यो कार्यक्रम ल्याएको जनाए । नगर प्रमुख पजियारले यस्ता किसिमका कार्यलाई अगामी दिनमा पनि विभिन्न दाताहरुसँग समन्वय गरी निरन्तरता दिने प्रतिवद्धता जनाए ।


