अपडेट 
२०७८ कार्तिक १७, बुधबार ०९:३५

नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।

गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो ।  अस्ति मात्रै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो । यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न थालिएको छ ।

साथै ४५६ मेगावाटको माथिल्लो तामाकाेशी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकाेशी विद्युत् गृहबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्रीको अनुमतिका लागि समेत आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि भारतीय बजार विद्युत् निर्यात सुरु भएसँगै नेपालमा जलविद्युत् विकासको ठूलो ढोका खुलेको बताउनुभयो ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्नेछ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गर्ने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुनेछ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत् निर्यात हुनेछ । प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्नेछ ।

एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण बेलुका ६ बजे प्राधिकरणलाई पठाउनेछ ।

Comment


Related News

Latest News

Trending News