जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका– १ वडा कार्यालयमा भएको तालाबन्दी खुलेको छ ।
कार्यालयमा पर्खाल निर्माणको क्रममा जग्गाको नापी जांच नगरी निर्माण कार्य गरेको भन्दै स्थानीयवासीहरुले विरोध गर्दै कार्यालयमा तालाबन्दी गरेको थियो । दीपावली पछि जग्गाको नापी जाँच गर्ने बिषयमा आन्दोलित स्थानीयवासी एवम् जनप्रतिनिधिहरु बीच सहमति भएपछि कार्यालयमा लागेको ताल्चा खोलिएको हो । मंगलबार दुबै पक्ष बीच छलफल भएपछि स्थानीयहरुका माग अनुसारै जग्गाको नापी गराउने निर्णय गर्दै बुधबारदेखि वडा कार्यालयको ताला खोलिएको छ । वडा कार्यालय भवनको लागि स्थानीय उतिचन यादवले १५ धुर जग्गा उपलब्ध गराएको र सो जग्गामा वडा कार्यालयको एक तल्ले भवन निर्माण भई संचालनमा रहेको छ । वडा कार्यालयको अगाडि पर्खाल निर्माणका लागि केही दिनदेखि उपभोक्ता समितिले बाहिरी पर्खाल लगाउन थालेपछि स्थानीयहरुले अमिन लगाएर १५ धुर जग्गा नापी गरेर मात्र पर्खाल निर्माण गर्न कार्तिक ३ गतेदेखि नै विरोध गर्दै आएका थिए । तर मागप्रति कुनै सुनवाई नभएपछि स्थानीयहरुले कार्तिक १५ गते वडा कार्यालयको मुल गेटमा तालाबन्दी गरेको थियो ।
यता वडा अध्यक्ष यादवले अब १५ धुर जग्गा नापी गरेर स्थानीयहरुकै सहमतिमा पर्खाल निर्माण गरिएको दावी गरेका छन ।


