अपडेट 
२०७८ कार्तिक १८, बिहीबार ०७:४४

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सुकुम्बासीलाई सरकारले जग्गाधनी पूर्जा वितरण गर्ने गृहकार्य गरिरहेको बताएकी छन् ।

महोत्तरीको बर्दिवासमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बासीहरुलाई लालपूर्जा वितरण सम्बन्धी बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘ जग्गाधनी प्रमाण पूर्जा(लालपूर्जा) वितरण हुने दिन तोक्न सकिंदैन् तर, सरकारले जनताको पक्षमा निर्णय गर्ने तयारी गर्दैछ ।’ हाल गठबन्धनको सरकार रहेको बताउँंदै मन्त्री श्रेष्ठले सरकारबाट बाहिरिएपछि चरित्र फेर्नु र सरकारमा हुँदा कामलाई अल्झाएर जनता ठग्ने दोहोरो चरित्रको प्रदर्शन गरी सस्तो लोकप्रियताको लागि मात्रै घोषणा गर्न नहुने स्पष्ट पारिन् । चुनावमा गरिएको घोषणा पुरा गर्न नसकिए नेताहरु प्रतिको विश्वास जनतामा कम हुँदै जाने भएकोले दीर्घकालीन सोंच अनुसार निर्णय गर्नु पर्नेमा जोड दिईन् । कार्यक्रममा बोल्दै बर्दिवास नगरपालिका प्रमुख विदुर कार्कीले नगर क्षेत्रका भूमिहीनहरुको जग्गाको नापी जाँच सम्पन्न भईसकेको जानकारी गराए । हाल सम्म ९ हजार ४ सय ५९ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बासीको लगत संकलन भएको जानकारी समेत नगर प्रमुख कार्कीले दिए ।

विक्रम सम्वत् २०५६ सालमा सुकुम्बासी आयोगले वितरण गरेको लालपूर्जा खारेज हुनु पर्ने माग समेत प्रमुख कार्कीले अघि सारे । सो अन्र्तक्रिया कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ का प्रदेशसभा सदस्य शारदा देवी थापा र नापी विभागका निर्देशक सहितका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News