जनकपुरधाम । आस्थाको महापर्व छठपर्वकालागि जनकपुरधामका पोखरी तलाउहरुलाई सजाउने कार्य तीव्र रुपले भईरहेको छ ।
शुद्धता,आस्था र निष्ठाको पर्व छठपर्व गर्नका लागि यहाँका पोखरीहरुमा सरसफाईको सिंगारिने काम विभिन्न संघ संस्थाहरुले गरिरहेका छन् । छठपर्वका लागि यहाँका विभिन्न पोखरी तलाउहरुमा पण्डाल लगाउने काम समेत सुरु गरिएको छ भने सोमबारदेखि सरसफाई अझै तीव्र रुपमा गर्ने कार्यक्रम रहेको श्री गंगासागर छठ पुजा समितिका सचिव हरिनारायण गूप्ताले जानकारी दिए । विगत झैं यस वर्ष पनि गंगासागरको घाटलाई चार भागमा बाँडेर जनक युवाक्लब ,बजरंग युवा कमिटी,गंगाआरती समिति तथा गंगासागर छठ समितिले सजाउने कार्य गरिरहेकोछ । पर्वको लागि प्रति परिवार ५ सयको दरले चन्दा संकलन लिने गरिएको सचिव गुप्ताले जनाए । त्यस्तै धनुषसागरलाई सजाउने कार्य गणेश युवा कमिटी तथा स्थानीय युवाहरुले गरिराखेको छ । धनुषसागरमा पनि श्रद्धालु भक्तजनहरुबाटै चन्दा संकलन गरेर पोखरी घाट सजाउने गरिएको छ । इतिहासमा वर्णित मुरलीसर, बिषहारा पोखरी, बिहारकुण्ड, अग्निकुण्ड, दशरथ तलाउ लगायतका दर्जनौ पोखरी तलाउहरुमा सरसफाई गर्दै सजाईने काम जारी रहेको छ । अन्य ठाउंको छठमा राती अर्घ लिएर घर फर्किने र भोलिपल्ट बिहान पुनः पोखरी आउने प्रचलन रहेपनि जनकपुरधामको छठमा भने राती आएपछि एकै पटक उदाउँदो सूर्यलाई अर्घ देखाई घर फर्किने चलन छ ।
सोको लागि पोखरी तलाउहरुमा रातभर जाग्रामको निम्ति सम्बन्धित युवाक्लब तथा संस्थाहरुले पण्डालको व्यवस्थापन गर्ने गरेका छन । यता जानकी मन्दिर नजिकै रहेको अंगराजसरको सरसफाई तथा सजाउने काम गर्दै आएको मिथिला समाज सेवा समिति तथा जानकी चोकका स्थानीय युवाहरुले छठपर्वलाई निःशुल्क बनाएका छन । आफूखुशी चन्दा र दान दिँदा स्वीकार गर्ने गरिए पनि श्रद्धालुहरुलाई भने निःशुल्क सेवा दिँदै आएको अंगराज सर संरक्षक एवं सौन्दर्यकरण समितिले जनाएको छ । विगत ६ वर्षदेखि अंगराज(अरगजा) मा २४ सय भन्दा बढी परिवारले निःशुल्क रुपमै छठ व्रतको आयोजना गर्ने गरेका छन् ।


