जनकपुरधाम । मंसिर महिनामा हुने भनिएको नेपाली काँग्रेसको महाधिवेशनलाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँण सोमबार जनकपुरधाम आउने भएको छ ।
नेपाली काँग्रेसका सभापतिका आकाँक्षी विमलेन्द्र निधि धनुषा जिल्लामा कार्यकर्ता भेला गरि फर्किए लगतै गृहमन्त्री खाँण धनुषा जिल्लाका ४ वटै क्षेत्रका नेता कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसमा निधिलाई कमजोर पार्नकालागि नेताहरु धनुषा जिल्लामा सक्रियता बढाउन लागेको हो । धनुषा जिल्लामा यस अघि काँग्रेसका नेता प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु उनीहरु निधिलाई लक्षित गरेर कार्यक्रमहरुलाई तीव्रता दिएको छ । नेपाली कांग्रेस धनुषाले आयोजना गर्न लागेको कार्यकर्ता भेलामा सहभागी हुन गृहमन्त्री खाँण बिहान १० जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ । मन्त्री खाँणले सोमबार दिउँसो वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको सभाकक्षमा आयोजना हुन लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने, मंगलबार बिहान पार्टी कार्यालय धनुषामा आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी हुने जनाइएको छ । पार्टीले केन्द्रीय सदस्यहरु, भूतपूर्व संघीय साँसद, प्रदेशसभाका साँसद, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश सदस्य, नगर सदस्यको साथै सम्पूर्ण क्रियाशील सदस्यलाई भेलामा सहभागी हुन नेकाँ धनुषाले आग्रह गरेको छ ।


