सर्लाही जिल्लामा प्रत्येकेक वर्ष आस्थाको महापर्व छठ मनाउनेहरुको संख्यामा बृद्घि भइरहेको छ ।
छठपर्वको लागि किनमेल गर्नेहरुको संख्या बढेपनि स्थानीय व्यवसायीहरु भने असन्तुष्ट देखिएका छन । कोरोना संक्रमणको त्रास एवं बन्दाबन्दीको कारण लामो समयदेखि बन्द रहेको नेपाल भारत सीमा नाका गत महिनाबाट पूर्णरुपमा खुलिसकेकोले नेपाली ग्राहकहरु सस्तोमा सामान पाइरहेको भन्दै सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जान थालेपछि छठ जस्तो महापर्वमा पनि सीमाक्षेत्रका नेपाली बजारहरु सुनसान बनेको छ । व्रतालुहरु छठका लागि बाँसको नाङ्गलो, ढकिया, कोनिया, माटोबाट बनाइएको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरा लगायत फलफूल,उंखु,भोगटे,कागती, सख्खर लगायतका सम्पूर्ण पुजा सामग्रीहरु भारतीय बजारबाट नै किनमेल गर्ने गरेका छन । बन्दाबन्दीको बेला झण्डै डेढ वर्षदेखि सुस्ताएको भारतीय बजारको व्यापारले गति लिएको छ । नेपाली ग्राहकहरु छठमा मात्र नभइ दशै र तिहारको लागि समेत किनमेल गर्न पारीपट्टीकै बजारमा किनमेल गर्ने गरेका छन । जसको कारण नेपाली बजारमा चाडपर्वको चलहपहल भीडभाड देखिए पनि व्यवसाय भने न्यून देखिएको स्थानीय व्यवसायीहरु बताउंछन ।
‘भारतीय बजारको भाउ र नेपाली बजारको भाउमा चीनी र खानेतेल बाहेक अन्य सामग्रीमा एकदुई रुपैयाको मात्र फरक छ ’,मलंगबाका किराना व्यवसायी शोभित चौधरीले बताए । उता १ सय नेपाली रुपैया ५५ देखि ६० रुपैया भारुमा साटिने गरिएको छ । सीमानाका खुलेर अन्य विभिन्न कार्यहरु सहज भएपनि नेपाली बजारको व्यापार भने बिस्तारै धराशायी बन्दै गइरहेको व्यापारी अगुवाहरु बताउंछन ।