अपडेट 
२०७८ कार्तिक २३, मंगलवार ०७:२३

मैथिली र भोजपुरीमा एउटा प्रचलित शब्द छ : लोक–वेद । अन्तर्वस्तुका दृष्टिले लोक र वेद आफूमा अन्तर्विरोधी शब्दहरु हुन् । ‘लोक’ शब्दले भौतिक जगत र मानवीय सत्ताको प्रतिनिधित्व गर्छ भने ‘वेद’ शब्दले आध्यात्मिक सत्ता वा पारलौकिक अभौतिक चिन्तनको प्रतिनिधित्व गर्छ । सामान्यतः वर्चस्वको दृष्टिले ‘वेद’ राजकीय सत्ताको माध्यमबाट देव, धर्म र ईश्वरीय परम्पराको रुपमा बाध्यकारी धारणा हो, भने ‘लोक’ आम जनसमुदायको सहज जीवनशैलीबाट विकसित अनुभूति र चिन्तन हो । मानिसको विगत अर्थात मिथ र इतिहास दुबैको अध्ययन गर्दा सत्ताको प्रारम्भदेखी नै समाज राजकीय र आमजनसमुदायको दुई जीवनशैलीमा विभाजित छ । केही मानिसहरु लोक शब्दलाई ग्रामिण वा ग्राम्यको अर्थमा बुझ्छन् । तर त्यसो होइन । ‘लोक’ शासकको विपरीत शासित अर्थात जनसमुदायको चेतना हो । यसलाई तपाँई गाउँदेखी शहरसम्म फैलिएकोजनसाधारणको संस्कृति भन्न सक्नु हुन्छ ।

संस्कृति, भाषा, उत्सव वा जीवनयापन, हरेक क्षेत्रमा यो ‘लोकपना’ विशिष्टरुपमा देखिन्छ । समग्रतामा लोकको संस्कृति नै लोकसंस्कृति हो । लोक, वैदिक ज्ञानबाट अज्ञानी हुन्छ । वस्तुतः शासन र अभिजात्यले शुरुदेखी नै वैदिक ज्ञानलाई जनसाधारणबाट अलग्ग र रहस्यात्मक राख्दै आएको छ र यस्को ब्राह्मणोचित व्याख्यामात्र आफूले सुनाउँदै आएको छ । हुनपनि श्रममै जन्मेर श्रममै मर्ने ’लोक‘ लाई यो जलेबी जस्तो घुमाउरे ‘अज्ञात’को लम्बेतान बुझ्ने फुर्सद कहाँ हुन्छ र ? यस्ता रहस्यात्मक वायवीय ज्ञानप्रति लोकजन शुरुदेखी नै उदासीन रहँदै आएको देखिन्छन् । ‘ लोक’ वा श्रमिकजनको ज्ञानको स्रोत र स्वरुप उनको जीवनशैली अनुसार नै हुने गर्छ । लोकको पारम्परिक जीवनको मूलाधार कृषि रहँदै आएको छ, त्यसैले लोक पर्व र त्योहारमा कृषक चेतना र शैली दुबै मूख्यरुपमा परिलक्षित हुनेगर्छ । उसले जति श्रम गर्छ, त्यति पाउँछ, र जति पाउँछ त्यति नै अनुभूत पनि गर्छ । लोकजनको ज्ञानको स्रोत श्रम, यस्को उपलब्धिी र यस्को निम्ती प्रक्रियामा निहित छ । तपाँईले कति ध्यान दिनु भएको छ ? पर्वहरु मध्ये पौराणिक र वैदिक पूजा र अर्चनाहरुमा वैदिक मन्त्र र ब्राह्मण पुरोहितको उपस्थिति अनिवार्य हुने गर्छ भने लोक उत्सवहरुमा यस्तो अनिवार्यता हुँदैन । वैदिक यज्ञ, सत्यनारायणको पूजा, रामार्चा पूजा, रक्षा बन्धनको ब्राह्मणले रक्षा सूत्र बाँध्नु र विजयदशमीमा दुर्गा सप्तशतीको पाठ यस्तै खाले मान्त्रिक पूजाहरु हुन् । तर लोक उत्सवहरु जस्तै, जुडसीतल, फगुआ, दिदी बहिनीले दाजू भाईलाई बाँध्ने राखी, दशैमै श्रमिक जातिहरुले मनाउने दशैँ, झिझिया आदि, भरदुतिया (भैयादूज), सामा, र छठ आदि अमान्त्रिक पर्वहरु आमजनका उत्सवहरु हुन् । यसैगरी श्रमिक जातिका लोकदेव र देवीको पूजा अर्चनामा वैदिक मन्त्रको उपस्थिति हुँदैन । जस्तै, सल्हेस, दिनाभद्री, गनिनाथ गोविन्द, गहिल, गोरैया, ज्वालामुखीलोकदेव र देवीको पूजा अर्चनामा ब्राह्मण र वैदिक मन्त्रको आवश्यकता पर्दैन । हुन त आधुनिक वैदिक र पौराणिक अन्तर्वस्तुले भरिएको धार्मिकताबाट लोकसंस्कृतिपनि प्रभावित हुँदैछ, होइन भने परम्परागतरुपमा लोकजनमा जातिय कट्टरताको अभाव देखिन्छ ।

एउटा कबिला जस्तो जातिय सांगठनिकता रहेपनि र छोराछोरीहरु आफ्नै जात समुदायमा रहुन भन्ने मनसाय रहेपनि सन्तानले कदाचित अर्कै जातसंग बिहेगरी गएमा खासै टाउको दुखाई देखिँदैन । आधुनिककालमा अभिजात्यवर्गको प्रभावमा कथित प्रतिष्ठित देखिने रहरमा लोकजातिहरु भित्रपनि केही जातिय कट्टरता देखिन थालेको छ, तर यो कट्टरतापनि आधुनिक समृद्धिसंग जोडिएको मात्रै हो । रोचक के छ भने अहिले अभिजात्यहरुमा जातिय कट्टरता रहेपनि आधुनिक युवा पुस्तामा अन्तर्जातिय विवाह आधुनिक चेतनाको रुपमा विकसित हुँदैछ । यस्मा जातिपाति विरोधी सम्वैधानिक व्यवस्थालेपनि सहयोग गरिरहेको छ । यद्यपि साँस्कृतिकरुपमा आधुनिक हुन अभिजात्यहरुले अझै धेरै मिहनेत गर्नुपर्ने देखिन्छ । लोकजाति (श्रमिक जाति)मा बाल र किशोराअवस्थामा विवाहको समस्या अझै गम्भीर रहेपनि विधवा विवाह र मन नमिले दोस्रो विवाहलाई थोरै हिचकिचाहट सहित सहजरुपमा नै लिने गरिन्छ । यस्तो अभिजात्यहरुमा यदाकदा देखिएपनि यसप्रतिको कट्टरता अझै कायम नै देखिन्छ । तात्पर्य के भने लोकसंस्कृतिमा परम्पराबाट आएको विश्वास, पूजा–पर्व, रीति–रिवाज, रहन–सहन, सामाजिक गरिमा, र उल्लासको आफ्नै विशिष्टता छ । निश्चय नै, अन्धविश्वास, सामाजिक विपन्नता, र रुढिपना वर्तमानमा श्रमिकजातिय समुदायका यस्ता नकारात्मकताहरु छन्, जस्ले लोकसंस्कृतिको समृद्धि र अग्रगामी चेतनामा बाघा उपस्थित गरीरहेका छन् । तरपनि पुरै समुदाय र गाउँ एउटा परिवारको रुपमा एक आपसमा सम्वेदित हुनु यस्को विशिष्ट सकारात्मकताको रुपमा अहिलेपनि कायम छ । जग्गाको स्वामित्व र निजी सम्पत्तिको वर्चस्वले लोक समुदायभित्रपनि विवाद, अविश्वास, फूट र एकलकाँटेपना विकसित हुँदै गएको छ । तरपनि, लोकसंस्कृतिको बहुतायत हिस्सा अहिलेपनि निर्धन, जग्गा नभएको वा नाममात्रको जग्गा भएको तथा श्रममा निर्भर समुदाय भएकोले कैयौँ झैँ झगडा, मुद्दामामिलाको बावजूद सामूहिकता र साझापनाप्रतिको निष्ठा कायम देखिन्छ । दर्शन धार्मिकताको विपक्षमा जन्मिएको हो । तपाँई भन्न सक्नु हुन्छ, दार्शनिक चेतना आध्यात्मिकताको प्रतिपक्ष हो । तर दर्शन लोकचेतना र सँस्कृतिको निकट छ ।

आध्यामिकताले विश्वासमा जोड दिन्छ । कदाचित यस्ले तर्कको सहारा लिएपनि आँखा चिम्लेर विश्वास गर्नुमै जोड दिन्छ । तर दार्शनिकता वा दर्शनले तथ्यमा आधारित प्रमाणको आधारमा सत्यको खोजी अथवा स्वीकार वा अस्वीकार गर्नु भन्छ । अर्काे शब्दमा विश्वासको निम्ती दर्शनले प्रमाणलाई अनिवार्य भन्छ । दर्शन आफैले लिने प्रमाण भौतिक जगतबाट नै हो । अर्कोतर्फ लोकसंस्कृति भौतिकतामा आधारित जीवनशैली हो । यहाँसम्म कि लोकसंस्कृतिका देव–देवीहरुपनि मानवीय चरित्रकै हुन्छन् । तपाँई कुनै वैदिक वा पौराणिक देव र देवीलाई गाली गर्न सक्नु हुन्न, देउतासंग कुरा गर्न सक्नु हुन्न । तर लोकगाथा गायन सुन्ने हो भने त्यसमा गहिलजस्ती लोकदेवी मात्र होइन, त्यहाँ दुर्गालाई समेत मानिस जस्तै गाली गरिएको हुन्छ । तात्पर्य के हो भने लोकचेतनामा देव र देवीको कल्पना गरिएपनि यो मानवीय र लौकिक हुने गर्छ । यो भौतक चेतनाको भाव हो । वैदिक र पौराणिक ऋषि–मुनि, धर्माचार्य तथा सन्तहरुको संस्कृत भाषा र रहस्यवादी आध्यात्मिक शैलीको विपरीत लोकसंस्कृतिका सन्त र विचारकहरुले प्राकृत, अपभ्रंश, मैथिली, भोजपुरी, अवधी, लगायत लोकभाषाहरु र आमजीवनका सन्दर्भहरुको आधारमा निर्मित सरल बिम्ब र प्रतीकको प्रयोग गरे । लोकसन्तहरुको विशिष्टता भनेको वैदिक र पौराणिक रहस्यवादी पुरोहितवादको विपरीतमा लौकिक ज्ञान परम्पराका जीवनसूत्रको रचना र गायन थियो । सरहपा, कन्हपा लगायत सिद्ध सन्तहरु, रैदास, कबीर, आदि यस्तै खाले लोकसन्तहरु हुन् । निश्चय नै यी सन्तहरुका ज्ञानका सीमाहरु थिए ।पृथ्वी, आकाश र ब्रह्माण्डका वैज्ञानिक कारणहरु सम्म उनिहरुको पहुँच थिएन ।त्यसैले अज्ञात नियन्ताप्रति उनिहरुको आस्था थियो । तर उनिहरुले समाजमाथी थोपरिएको जातिय भेदभाव तथा धार्मिक पाखण्डको कडा विरोध गरे र जनसामान्यलाई यसको निम्ती प्रेरित गरे ।तात्पर्य के हो भने उनिहरु वैचारिकरुपमा पूर्णतः भौतिकवादी नभएपनि उनिहरुको चिन्तनपद्धति भौतिकतामा आधारित थियो । कबिरको “पाहन पूजे हरि मिले, तो मै पूजूँ पहाड, ता से तो चक्की भली पीस खाय संसार” होस वा सिद्ध परम्पराका सन्त ‘सरहपा’को “देहा सरिसअ तित्थ, मइ सुह अण्ण ण दिठ्ठओ”देहजस्तो तिर्थ मैले कतै अरुठाउँमा देखिन) लगायत यसैका प्रतिनिधि उदाहरणहरुहुन् ।

यो लोकसंस्कृतिको दार्शनिक पक्ष हो, होइनभने लोकगाथाहरुमा अभिव्यक्ति जीवनशैली तथा यस्मा वर्णित मानवीय स्वाभावका देव–देवी तथा साधुसन्तको चेतना र व्यवहार सबै भौतिक चिन्तनशैलीका प्रमाणहरु हुन् । समग्रमा लोकचेतना र संस्कृतिको विशिष्टता मानवीयता, सामूहिकता तथा लौकिकता (भौतिकता) हो । तर बजार र धर्मको गँठजोडमा जसरी कर्मकाण्डीय प्रभाव बढदै गइरहेको छ, त्यसले लोकसंस्कृतिलाई बहुआयामिकरुपमा प्रभावित गरिरहेको छ । परिवर्तन समाजको स्वाभाविक गति हो । लोकसंस्कृतिपनि परिवर्तनको चक्रबाट पृथक रहनसक्दैन ।तर यो परिवर्तन यस समाजमा व्याप्त अशिक्षा, पछौटेपना, रुढिवादिता तथा अन्धविश्वासबाट मुक्त गराउने खालको भए हितकर हुने थियो । समस्या कहाँ छ भने लोकसंस्कृतिभित्रको अज्ञानता तथा सोझोपनाको फाइदा उठाउँदै पुरोहितवादी बजारले यसलाई घोर धार्मिकतार कर्मकाण्डिय उपभोक्तावादी बजारमा परिणत गर्न खोज्दै छ । लोकगीतहरुमा देखिएको हिन्दी सिनेमाको प्रभाव, झिझिया नाचलगायतका लोकनृत्यका शैलीहरुमाथी बलिउड र अन्य नृत्यशैलीको प्रभाव ; यतिमात्र कहाँ हो र लोकगीतहरुमा लोकबाजाको ठाउँमा आधुनिक बाजाहरुको प्रयोग र त्यसरी नै लोक देव र देवीहरुलाई पौराणिक स्वरुपमा प्रस्तुत गरिनु तथा गोरखिया मन्तरको ठाउँमा संस्कृतका मन्त्र तथा कर्मकाण्डीय पूजाविधिको बढदो उपस्थितिले लोकसंस्कृति ; एकातिर वेदसंस्कृतिमा र अर्कोतिर बजारु फेसन संस्कृतिमा हराउँदै गइरहेको छ । अब कयौँ देवी र बरहम थान र गहवरहरुमा करताल बजाएर भगतै गाइरहेका भगता देखिँदैनन् । बढी भयो भने लाउडस्पीकरमा भगतै बजीरहेको हुन्छ, होइनभने त्यहाँपनि फिल्मी प्यारोडीबाला भजन बजी रहेको हुन्छ ।

सबैभन्दा खतरनाक भनेको बजार, राजनीतिक पार्टीहरुको भोट बैंकको प्रतिस्पर्धा तथा निजीसम्पतिको प्रतिस्पर्धाले लोकसंस्कृतिको सबैभन्दा महत्वपूर्ण पक्ष मानवीयता र सामूहिकता हराउँदैछ । यो परिवर्तन विकृत र पश्चगामी हो । परिवर्तन नराम्रो होइन, तर साँस्कृतिक सम्पदाहरु तथा मानवीयता र सामूहिकताको रक्षा गर्दै आधुनिक वैज्ञानिक चिन्तन पद्धतिको आधारमा हुने परिवर्तनमात्र अग्रगामी हुनसक्छ ।

Comment


Related News

Latest News

Trending News