अपडेट 
२०७८ कार्तिक २५, बिहीबार १४:३७

प्रदेश‍-२ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्यांक लेखाउन प्रदेशवासीसँग अपील गरेका छन् । मुख्यमन्त्री राउतले अपील जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन आग्रह गरेका हुन् । तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले आग्रह गरेका छन् ।

‘गणकहरुले सोधेको सबै प्रश्नहरु धैर्यतापूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाई, दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछ।’ अपीलमा भनिएको छ ।

यस्तै यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तिय संस्थामा पहुँचाको अवस्था, सरकारी अनुदान प्राप्त गरे/नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के कस्तो छ ? जस्ता मसिना तर नागरिकका लागि अति नै महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएकोले धैर्यपूर्वक जवाफ दिन अपीलमार्फत मुख्‍यमन्त्रीले आग्रह गरेका छन् । यस्तै सामाजिक बहिष्करणमा परेका समूहहरु दलित, जनजाति, अल्पसंख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्ने भन्दै मुख्यमन्त्रीले यहीं तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने बताएका छन् ।

उनले प्रदेशवासीले टिपाएको सही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने भन्‍दै सबैसँग सही तथ्याङ्क लेखाउन अपीलमार्फत आग्रह गरेका छन् ।

Comment


Related News