अपडेट 
२०७८ कार्तिक २७, शनिबार ०७:१९

नेपालको संविधान –२०७२ को प्रस्तावनामा लेखिएको छ – ‘ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै;……. ’ यसरी संविधानले परिकल्पना गरेको छ – प्रत्येक नागरिक आफ्नो भाषा, धर्म, संस्कृति तथा रिति रिवाज अनुसारको व्यावहार गर्न सकोस् । आफ् नो परम्परा अनुसार पर्व त्यौहार मनाउन सकोस् ।

पर्व–त्योहार मार्फत पर्यटन विकास गर्न सकोस । संविधानले गरेको आदर्श परिकल्पनालाई साकार पार्न तीनै तहका सरकारलाई जिम्मेवारी पनि तोकेको छ । मुलुक भित्रको भाषा,साहित्य,कला,संस्कृतिको संरक्षण सम्बर्धन गर्न आवश्यक सहयोग तथा सहकार्य गर्न तिनै तहका सरकारलाई जिम्मेवार बनाएको छ । यसका लागी नीति नियम बनाउनेदेखि वजेट विनियोजन गर्नसक्ने सम्मको अधिकार दिएको छ । संविधानको अनुसूचि ६ को १८औं बुंदामा प्रदेश सरकारलाई भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोगको दायित्व तोकेको छ भन्ने अनुसूचि ७ को १८ औं बुंदामा पर्यटन, खानेपानी तथा सरसफाईलाई संघ र प्रदेशको साझा सूचिमा राखेको छ । स्थानीय सरकारको अधिकार र कर्तव्य उल्लेख गरिएको अनुसूचि ८को ९ औं बुंदामा भाषा, संस्कृति, ललितकलाको संरक्षण र विकासको जिम्मेवारी तोकेको छ भन्ने अनुसूचि ९ को छैठो बुदामा सेवा शुल्क, दस्तुर , दण्ड जरिवाना तथा प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी र पर्यटन शुल्क लिन पाउने अधिकार तीनै तहको साझा सूचिमा राखिएको छ । यसरी प्रास्तावनामा उल्लेखित आदर्श उद्येश्य पूरा गर्न संविधानले तीनै तहका सरकारलाई जिम्मेवारी पनि तोकेको छ । तर आज संविधानका यी बोझिल विषयमा लेख्न किन आवश्यक पर्यो ? आम पाठकको जिज्ञासा हुन सक्छ । कारण आम नागरिक विगत ६ वर्षदेखि यिनै संविधानको अभ्यास गर्दै आएका छन् । सभा सेमिनारमा संविधानको विरोध गर्ने अनि यिनै संविधानलाई अंगीकार गर्दै मन्त्री, सन्त्री बनि झण्डाबाल गाडी कुदाएका दृश्य देख्दै आएका छन् । तीनै तहका सरकारको वजेट परिचालन गरी सडक, विजुली, पोखरी सौन्दर्यीकरण, कुलो, सार्वजनिक दालानआदिको निर्माण गर्दै आएका छन् । हो पनि , जहा“का नागरिक र मन्त्री, सांसदहरु विकास भनेको विजुलीवत्ती, सडक, पोखरी सौन्दर्यीकरणलाई मात्र बुझेका छन् त्यहाँ विद्यालय, अस्पताल, कलासंस्कृति, पर्व त्यौहारको विषयमा कुरा गर्नु अलि सुहाउँदैन ।

तर म यहाँ मिथिला नगरी जनकपुरधामकोमात्र नभई सिंगै तराई मधेसको पहिचानको रुपमा रहेको दशैं, दीपाली र छठ लगायतका पर्व त्यौहारको आयोजन, यसको बाजारीकरण, लोक परम्परालाई संरक्षण सम्बर्धनमा तीनै तहको भूमिका बारे थोरै कोट्याउन चाहेको छु । सडक विजुली र पोखरी सौन्दर्यीकरणको विषय धेरै भयो । होईन र ? चौठचन्ददेखि सुरु भएको पर्व त्यौहारको सिजन छठि पर्वको आयोजनसंगै सम्पन्न भएको छ । पर्व त्यौहार र स्वक्षता एक अर्काको पूरक हो । खासमा दीपावली र छठ पर्व स्वक्षताकै पर्व हो । नगरलाई स्वक्ष बनाउन स्थानीय सरकारको दायित्वभित्र पर्दछ । हामीले दीपावलीको फोहर नगरलाई दुर्गन्धित बनाई राखेको देख्यौं । छठि जस्तो पवित्र पर्व मनाईने पवित्र जलाशयहरुको डिल फोहरको डुंगुरमा परिवर्तन भएको देख्यौं अनि आम नागरिक निजी साधन श्रोत प्रयोग गरी छठि पूजा घाटहरुलाई सृंगार पटार गरी रहेको बेला नगरपालिकाका ट्रेक्टर र टिपर आराम गरी रहेको दृश्य पनि देख्यौं । कला, संस्कृतिलाई संरक्षण सम्बर्धन गर्ने अधिकार प्राप्त , धार्मिक, सांस्कृतिक आयोजनहरु मार्फत राजस्व असूली गर्न पाउने सम्मको अधिकार प्राप्त तीनै तहका सरकारको उपस्थिती पर्व त्यौहारको मौसममा न देखिनु दुर्भाग्यपूर्ण हो । हो , आम नागरिक आफ् नो निजी साधन श्रोतबाट पूजा घाटहरुलाई आकर्षक साज सज्जा दिई सकेपछि तीनै तहका अगुवाहरुको पूजास्थलमा रेलमपेल भने जरुर देखियो । कस्तो अचम्म आफ्नो दायित्व निर्वाह गर्न नसक्ने अनि नागरिकले निजी प्रयासमा आयोजन गरेको पूजा स्थलमा पुगउ मौखिक शुभकामना दिने ÷लिने ? पर्व त्यौहारको मौसममा तीनै तहका सरकार मौन देखिएपनि मनकारी समाजसेवीहरुले भने व्रतालुहरुका लागी सक्दो सहयोग गरे । गरिब व्रतालुहरुलाई पूजा गर्न सजिलो होस भनेर युवा व्यावसायी दीपेन्द्र ठाकुरले २ सय ५० परिवारलाई ५ किलो चामल,५ किलो गहुं,साडी,साया,ब्लाउज र जनही ५ सय नगद बांडे । यसैगरी युवा राजनीतिकर्मी बिक्रम पजियार र अमर पजियारले व्रतालुहरुलाई साडी, साया, ब्लाउजसंगै पुजा सामग्रीहरु प्रदान गरे ।

यस अघि जनकपुरधाम उपमहानगर पालिका १का वडाध्यक्ष शत्रुघ्न साहले पनि व्रतालुहरुलाई पूजा सामग्री बितरण गरेका थिए । फेसबूकबाट प्राप्त जानकारी अनुसार हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि पालिका भित्रका ब्रतालुहरुलाई पूजा सामग्री वितरण गरेका थिए । चुकी छठि सर्वव्याप्त पर्व हो । धनीदेखि गरिबसम्म यो पर्व गर्छन । भिख मांगेर भएपनि छठि मान्ने परम्परा छ । यस्तोमा व्रतालुलाई सहयोग गर्ने मनकारीहरु बधाईका पात्र हुन् । उनिहरुलाई धन्यवाद । दशैं,छठि,सामा चकेवा जस्ता लोकपर्वहरु हाम्रो पहिचान हो । लोकपर्वहरुको आत्मा हुन्छ – लोकगीत तथा लोकनृत्य । दशैंमा झिझिया नृत्य गर्ने चलन छ । डेढ दशकसम्म गाउँ गाउँमा आयोजन हुने झिझिया अचेल सहरका व्यावसायिक समूहरु तथा मञ्चहरुमा सिमित छ । छठि पर्वमा गाउने लोकगीतहरु सिडि र पेन ड्राईभमा सिमित बन्दैछ । युवा पुस्ता पारम्परिक गीत,संगीत तथा नृत्यप्रति उदासिन बन्दैछ । यहाँका मौलिक पर्व त्यौहार तथा पारम्परिक गीत,संगीत र नृत्यको विकासमा तीनै तहको सरकारको भूमिका आवश्यक छ कि छैन ? हामी सडक,विजुलीलाई जतिसुकै विकास गरेपनि अमेरिका,जापानसंग तुलना गर्न सक्दैनौं । तर झिझिया,सामाचकेवा र छठि गीतलाई संरक्षण सम्बर्धन गरेर हामी विश्वका जुनसुकै मुलुकसंग तुलना गर्न सक्छौं । तर गर्नु के – नेताहरुको घैंटोमा घाम लागे पो ?????

Comment


Related News

Latest News

Trending News