जनकपुरधाम । मिथिलामा श्रद्धापूर्वक अमलाको रुखको पूजा अक्षय नवमी पर्व मनाइएको छ ।
कात्तिक शुक्ल नवमी तिथिका दिन अमलाको रुखको पूजा अर्चना गरी रुखमुनि नै खाना पकाउने परम्परा रहेको छ । सो अवसरमा जनकपुरधामका मठ–मन्दिरहरुमा बिशेष पूजा र भोजको आयोजना पनि गरिएको थियो । जानकी मन्दिर लगायत यहाँका बिहार कुण्ड कट्टी,सुन्दर सदन कुट्टी,मौनीबाबाको कुट्टी लगायतका दर्जनौ मन्दिर तथा कुट्टीहरुमा अमलाको रुखमुनि सामूहिक (भोजन) पंघतको आयोजना गरिएको थियो । नवमीका अवसरमा ब्राह्मण भोजन गराउने परम्परा पनि रहेकोछ । अक्षय नवमीलाई कुष्माण्डा नवमी समेत भनिने गरिएको छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशको बध गर्नु अघि मथुरा,बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको शास्त्रहरुमा उल्लेखछ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमाको दिन सम्म भगवान् विष्णु अमलाका रुखमा वास हुने जनविश्वास छ । नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने धार्मिक मान्यता रहिआएकोछ । नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न दान गर्नाले अक्षय फल मिल्ने जनविश्वास रहेकोछ । वैज्ञानिक तथा आयुर्वेदिक दृष्टिले पनि निकै महत्व बोकेको अमलाको सम्बद्र्धनमा समेत अक्षय नवमीको महत्वपूर्ण योगदान रहेकोछ ।


