मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकाले आफनै प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ ।
गाउपालिकाले ६ करोडको लागतमा आफनै प्रशासनिक भवन निर्माण गरेको छ । नव निर्मित मुख्य प्रशासनिक भवनको सोमबार प्रदेश नं २ का महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उदघाटन गर्दै धनकौल गाउँपालिका विकास निर्माण क्षेत्रमा जिल्लामै उत्कृष्ट रहेको बताए । जिल्लाको २० स्थानीय तह भ्रमण गरेको छु, मन्त्री सिंहले,‘गाउपालिका भवन जिल्लामा मात्र नभई प्रदेश २ कै नमूना भवन हो ।’ कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष रामाश्रय साहले सबैको साथ र सहयोगले मुख्य प्रशासनिक भवनको निर्माण गर्न सफल भएको बताए । कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष अकली सहनी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख कृष्ण प्रसाईं, सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख भरत खनिया, बसबरिया गाउँपालिका अध्यक्ष रामअयोध्या राय, सबै वडाहरुका वडाअध्यक्ष, पालिका कर्मचारी लगायत सहभागी थिए ।


