जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई मंगलवार पदमुक्त गरेका छन् ।
मन्त्री यादवलाई शनिवार नै पदबाट राजिनामा दिन मुख्यमन्त्री राउतले जनाउ दिएका थिए ।तर मन्त्री यादवले पार्टीले निर्णय गरी राजिनामा दिन निर्देशन दिएपछि मात्र राजिनामा दिने अडानमा थिए ।यादवले राजिनामा नदिएपछि मुख्यमन्त्री राउतले उनलाई बर्खास्त गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको सचिवालयबाट मंगलवार दिउँसो जारी विज्ञप्तिमा १६९ को उपधारा (२) को खण्ड(ख) बमोजिम मौजुदा मन्त्रिपरिषदबाट पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री लालबाबु राउतलाई तोकिएको छ । ‘मन्त्रीले राजिनामा दिन अस्वीकार गरेपछि हटाउने कानुनी प्रकृया अपनाइएको हो’ मुख्यमन्त्री राउतले भने, संघीय गठबन्धनमा सहमति अनुसार नेकपा(एस) लाई सरकारमा ल्याउन उहाँलाई राजिनामा दिन आग्रह गरिएको थियो । प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)लाई दुईवटा मन्त्रालय दिने सहमति भएको हो ।त्यस अनुसार राय मन्त्री रहेको उद्योग, पर्यटन तथा वन मन्त्रालय र अर्को कानून, न्याय तथा प्रदेश मामिला मन्त्रालय दिने सहमति भएको हो । नेकपा एसका नेतालाई मंगलवार नै मन्त्री पदको सपथ गराउने कार्यक्रम रहेको थियो ।तर मुख्यमन्त्री काठमाण्डुमा रहेकाले सपथ केही पछि धकेलिएको छ ।
नेकपा एस प्रदेश संसदीय दलका नेता शत्रुधन महतो पर्यटन, उद्योग तथा वन मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भइसकेको छ । तर अर्को मन्त्रीको नाम अझै टुंगो लागिसकेको छैन् । मन्त्रीबाट अपदस्थ गरिएका रायले मुख्यमन्त्रीलाई नै राजिनामा दिनु पर्ने माग गरेका छन् ।मुख्यमन्त्रीले राजिनामा दिन भनेपनि पार्टीले कुनै निर्णय नगरेको उनले दाबी गरे ।राउतले राजिनामा दिन भन्दैमा राजिनामा नदिदा पदमुक्त गरेको उनले आरोप लगाए । ‘अख्तियारले मुख्यमन्त्री राउतलाई भ्रष्टाचारमा दोषी देखिएको वयान जारी गरिसकेको छ’ उनले भने, पार्टीको प्रतिष्ठालाई जोगाउन मुख्यमन्त्री राउतले तत्काल राजिनामा दिनु पर्छ ।मुख्यमन्त्री कार्यालयमा साइकल खरिद प्रकरणको छानविन क्रमको पहिलो चरणमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरिसकेपछि राउतले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री राउतले यस अघि पूर्व राजपाका तत्कालीन भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई पदमुक्त गरेका थिए । सोनल लगतै सो पार्टीका तीन जना राज्यमन्त्रीलाईपनि पदमुक्त गरेका थिए । ‘संसदीय दलको बैठक र पार्टीको बैठकमा समेत यो मुद्दालाई उठाउने छु’ रायले भने, म मुख्यमन्त्रीको कृपाले मन्त्री बनेको होइन् ।पूर्व राजपासितको सहमतिमा मन्त्री बनेको दाबीगर्दै उनले पार्टी एकीकरण भएपछि सोझै हटाउन नमिल्ने उनको तर्क छ । मुख्यमन्त्री राउतको निर्णय दुर्भाग्यपूर्ण रहेको उल्लेखगर्दै उनले भने, भ्रष्टाचारका आरोपी सरकार चलाउने र निर्दोषलाई शुलीमा चढाउने प्रवृति हटनु पर्छ । ‘मुख्यमन्त्रीको कारण नै प्रदेश सरकारले गति लिन सकेको छैन्’ रायले भने, जसपाको कार्यकारिणी सदस्य समेत रहेकाले म त्यसमा मुख्यमन्त्रीलाई प्रश्न गर्नेछु ।
पूर्व राजपालाई छाडेर जसपा नै रोजेका रायले पार्टीको आधिकारिकता सनाखतको बखतपनि प्रभावकारी ढंगले सहयोग गरेका थिए । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी भइसकेका छन् ।नेकपा एस आउने वातावरण तयार भइसकेको छ ।तर मंगलवारपनि नेकपा एसका मन्त्रीहरुको नाम टुंगो लाग्न सकेको छैन् ।मन्त्रीको टुंगो लगाउन धर्मनाथ साह, रामचन्द्र यादव, शत्रुधन महतो लगायतलाई जिम्मेवारी पार्टीले दिएको केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए । ‘मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी पाएका नेताहरु गृहकार्यमा जुटिसकेका छन्’ उनले भने, अन्तिम टुंगो अध्यक्ष माधव कुमार नेपालले लगाउने छन् ।उच्च स्रोतका अनुसार नेकपा एसले सरकारमा एकजना महिलालाई पठाउने तयारी गरेको छ ।मन्त्रीको सूचीबाट भने सुन्दरराज विश्वकर्मा हटिसकेका छन् ।
https://www.youtube.com/watch?v=aJqxuS3AAA0&t=4s


